जङ्गुलाई जोड़्ने झोलुङ्गे पूलको निर्माण कार्य पूरा

IMG-20240115-WA0261.jpg

सेना, सीमा सड़क संगठन अनि ग्रेफको पहल सराहनीय छः मन्त्री साम्दुप लेप्चा

गान्तोक: गत ४ अक्टोबर २०२३-को दिन टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले प्रभावित बनेको उत्तर सिक्किम हाल पुनर्निर्माणको चरणमा रहेको छ। साङ्कलाङमा जङ्गुलाई जोड़्ने प्रमुख पूल पनि सो बाढ़मा पूर्ण रूपले क्षतिग्रस्त बनेको थियो भने सीमा सड़क संगठनद्वारा त्यहाँ रेकर्ड समयभित्रै झोलुङ्गे पूल निर्माण कार्य पूरा गरिएको छ। सेना दिवसको अवसरमा निःस्वार्थ सेवाको प्रतीकको रूपमा साङ्कलाङमा निर्मित ४०० फीट लामो झोलुङ्गे पूलको राज्यका सड़क तथा पूल विभागीय मन्त्री सामडुप लेप्चाले उद्घाटन गरी राज्यलाई समर्पित गरेका छन्। यस अवसरमा क्षेत्र विधायक पिञ्छो नामग्याल लेप्चा, जङ्गुका पञ्चायत सदस्यगण, जिल्लापाल, पुलिस अधीक्षक लगायत अन्यको उपस्थिति रहेको थियो।

यसबारेमा बोल्दै लाचेन-मंगनका विधायक एवं राज्यका सड़क तथा पूल विभागीय मन्त्री सामडुप लेप्चाले रेकर्ड समयमा झोलुङ्गे पूल स्थापित गर्न महत् योगदान पुऱ्याउने सबैलाई राज्य सरकारको पक्षबाट धन्यवाद दिए। ४ अक्टोबरको दिन टिस्टा त्रासदी राज्यवासीले भुल्न नसक्ने चोट पाएको स्मरण गर्दै तथापि, यसबाट उठेर पुनर्निर्माण कार्य युद्धस्तरमा चलिरहेको जानकारी गराए। यस पुनर्निर्माण कार्यमा सेना, सीमा सड़क संगठन, ग्रेफको अतुलनीय पहल रहेको उल्लेख गर्दै मन्त्री लेप्चाले सराहना गरे। पुनर्निर्माण कार्यमा कतिपय राजनीतिकरण गरिएको विचार पोख्दै मन्त्री लेप्चाले यसबारेमा जनता दिग्भ्रमित नहुनुपर्ने आह्वान गरेका छन्। भौगोलिक परिस्थितिको कारण कतिपय ठाउँमा मशीन हुँदा हुँदै पनि एउटा मशीनले मात्र काम गर्नु सकिरहेको उनले जानकारी गराए। ग्रेफ अनि बीआरओले दिएको निर्धारित समयसीमा ३१ मार्च २०२४-मै चुङथाङदेखि लाचेनसम्म सड़क सम्पर्क सुचारु हुने कुरामाथि मन्त्री लेप्चाले विश्वास व्यक्त गरेका छन्। यी झोलुङ्गे पूल निर्माणले क्षेत्रवासीले धेरै राहत पाएको मन्त्री लेप्चाले जानकारी गराए।

जानकारी गराइन्छ, ४ अक्टोबरको दिन आएको विनाशकारी बाढ़मा राज्यका अन्य जिल्लासँगै उत्तर सिक्किमको अधिकांश प्रमुख पूर्वाधारहरू क्षतिग्रस्त बनेको थियो। सो बाढ़ले १३ वटा पूल अनि लगभग २०-२५ किलोमिटर सड़क सम्पर्क पूर्ण रूपले क्षतिग्रस्त भएको थियो। यी विषयलाई ध्यानमा राखेर सेनासँगको समन्वयमा सीमा सड़क संगठनले दुई महिनाभित्रै चुङथाङ अनि जेमापछि हाल साङ्कलाङमा टिस्टा नदीमाथि झोलुङ्गे पूल स्थापित गरिसकेको छ। यी झोलुङ्गे पूलहरू स्थापित गरिएपछि चुङथाङ, लाचुङ अनि लाचेनका स्थानीयहरूसँगै सेनाको आवश्यक आपूर्ति पुनर्स्थापित भएको छ।

About Author

Advertisement