छैंटौं स्थापना दिवसलाई लिएर खरसाङमा भागोप्रमोको सांगठनिक सभा : ९ सेप्टेम्बरमा सबैलाई समयमा नै यात्रा गरिदिने निवेदन

d760751b-0ce0-4af9-8184-9aebf85b5790

खरसाङ (५ सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङमा हुने आफ्नो छैंटौं स्थापना कार्यक्रमलाई लिएर खरसाङस्थित पार्टी कार्यालयमा सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाइलीको अध्यक्षतामा र महकुमा सचिव भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभालाई नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री, युवा शक्ति खरसाङ महकुमा समितिका अध्यक्ष प्रेमेन्द्र गुरुङ, नारी शक्ति खरसाङ महकुमा समितिका अध्यक्षा सबिता कार्की आदिले सम्बोधन गरेका थिए। सभामा वक्ताहरुले आगामी ९ सेप्टेम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना हुने पार्टीको छैटौं स्थापना दिवसलाई लिएर तयारीहरुको समीक्षा गरेका थिए। यस स्थापना दिवस कार्यक्रममा जीटीए क्षेत्र अन्तर्गत दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक लगायत पहाडभरिबाट भागप्रमो पार्टीका प्रतिनिधिहरू उपस्थित रहने भएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय सदस्य समीरदीप ब्लोन, पूर्व सभासद श्याम शेर्पा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ लगायत केन्द्रीय, महकुमा, टाउन कमिटी र विभिन्न समष्टिका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको महासचिव भक्तिमान तामाङले‌ पार्टीको छैटौं स्थापना दिवस कार्यक्रममा पहाडभरिका विभिन्न स्थानहरुबाट पार्टी प्रतिनिधिहरु भेला हुने भएकोले रेलको टिकट, हवाई टिकट, बिमारीहरुलाई बिहान छिट्टै गईदिने अनुरोध गरेका छन्‌। उनले ट्राफिक जामको कारणले हुने समस्याको कारण सबैलाई क्षमा माग्दै समयमा नै आफ्नो गन्तव्यतर्फ गईदिने कि चैं एक दिन अघि नै यात्रा गरिदिने निवेदन गरेका छन्। जनतालाई पर्न जाने असुविधाप्रति उनले क्षमा याचना पनि गरेका छन्। तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको छैंटौं स्थापना दिवस कार्यक्रममा जीटीए क्षेत्रभरिबाट पार्टी प्रतिनिधिहरु उपस्थित हुने भएकोले ट्राफिक जामको समस्या हुन सक्ने भएकोले जनसाधारणले ९ सेप्टेम्बरमा बिहान छिट्टै यात्रा गरिदिने कि चै एक दिन अघि नै यात्रा गरिदिने निवेदन गरेका छन्।

About Author

Advertisement