१३ अक्टोबरः यूएफा च्याम्पियन्स लीगमा बुधवार राति आ-आफ्नो म्याच जितेर बायर्न म्यूनिख र नापोलीले नक्आउट राउण्डमा स्थान बनायो। यसरी नै लिभरपूलको एकतर्फी जीतमा स्टार स्ट्राईकर मोहम्मद सलाहले टुर्नामेण्टको इतिहासको सबैभन्दा तेज ह्याट्रिक गरे। यसबाहेक बार्सिलोना र इण्टर मिलानबीचको म्याच चाहिँ ड्र रह्यो। जर्मनीको क्लब बायर्न म्यूनिखले चेक रिपब्लिकको क्लब भिक्टोरिया प्लाजेनलाई ४-२-ले पराजित गऱ्यो। यस जीतको साथै बायर्नले ४ वटा म्याचमा १२ पोइण्टको साथ ग्रुप सी-को शीर्ष स्थानमा रहेर च्याम्पियन्स लीगको नक्आउट राउण्डमा स्थान बनायो। यस अवे म्याचमा बायर्नले मध्यान्तरअघि नै ४ गोल छिरायो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट लिओन गोरेत्ज्काले २५औं र ३५औं मिनटमा गोल गरे। यसरी नै सेडियो मानेले १०औं र थोमस मूलरले १४औं मिनटमा गोल गरे। दोस्रो हाफमा चाहिँ होम टीमले २ गोल गऱ्यो। एडम भ्लाकानोवाले ६२औं र यान क्लिमेण्टले ७५औं मिनटमा गोल गरे। यस ग्रुपमा बार्सिलोना र इण्टर मिलानबीच खेलिएको अन्य एउटा हाई भोल्टेज म्याच चाहिँ ३-३-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट रोबर्ट लेवाण्डोस्कीले ८२औं र स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। यसबाहेक एक गोल ओस्माने डेम्बेलेले ४०औं मिनटमा छिराए। यसरी नै इटलीको क्लबबाट निकोलो बारेल्लाले ५०औं, लौटारो मार्टिनेजले ६३औं र रोबिन गोसेन्सले ८९औं मिनटमा गोल गरे। यस ड्र-पछि इण्टर ४ वटा म्याचमा ७ पोइण्टको साथ दोस्रो स्थानमा रहन पुग्यो। यसरी नै टुर्नामेण्टबाट बाहिर हुने संघारमा पुग्ने बार्सिलोना ४ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ।

यसरी नै ग्रुप ए-मा नापोलीले नीदरल्याण्डको क्लब अयाक्सलाई ४-२-ले पराजित गरी टुर्नामेण्टको नक्आउट राउण्डमा स्थान पक्का गऱ्यो। इटलीको क्लब अहिले चारैवटा म्याच जितेर १२ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। नापोलीले बुधवार राति म्याचको दुवै हाफमा २-२ गोल गऱ्यो। यस ग्रुपको अन्य एउटा म्याचमा लिभरपूलले स्कटल्याण्डको क्लब रेञ्जर्सलाई ७-१-ले पिट्यो। यस म्याचमा लिभरपूलका स्टार स्ट्राईकर मोहम्मद सलाहले च्याम्पियन्स लीगको इतिहासमा सबैभन्दा तेज ह्याट्रिक गरे। म्याचमा मध्यान्तरसम्म त स्कोर १-१-को बराबरीमा रहेको थियो तर दोस्रो हाफमा लिभरपूलले आधा दर्जन गोल थपेर रेञ्जर्सको चुनौतीलाई माटोमा मिलायो। यस अवधि सलाहले केवल ६ मिनट र १२ सेकेण्डभित्र आफ्नो ह्याट्रिक पूरा गरी बाफेटिम्बी गोमिसको रेकर्ड तोड़े। गोमिसले लियोनबाट खेल्दै २०११-मा डिनामो जाग्रेब विरुद्ध ७-१-ले जीतको अवधि सबैभन्दा तेज ह्याट्रिकको रेकर्ड बनाएका थिए। सलाहले म्याचको ७५औं, ८०औं र ८१औं मिनटमा गोल गरे। यसबाहेक रोबर्टो फिर्मिन्होले २४औं र ५५औं मिनटमा २ गोल गरे। यी दुईबाहेक डार्विन नुनेज (६६औं मिनट) र हार्वे एलियट (८७औं मिनट)-ले पनि १-१ गोल गरे। रेञ्जर्सबाट स्कट एरफिल्डले १७औं मिनटमा १ गोल गरे। यस रेकर्ड जीतपछि लिभरपूल ९ पोइण्टको साथ ग्रुपको दोस्रो स्थानमा रहन पुग्यो।

ग्रुप डी-मा टोटनह्याम हट्स्परले एण्ट्रेच्ट फ्रेंकफर्टलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट सोन ह्युंग-मिनले २०औं र ३६औं मिनटमा २ गोल गरे। यसबाहेक ह्यारी केनले २८औं मिनटमा पेनल्टीबाट १ गोल गरे। फ्रेंकफर्टबाट डाइची कामाडाले १४औं र फारिडे अलीडोउले ८७औं मिनटमा गोल गरे। फ्रेंकफर्टका खेलाड़ी टुटालाई ५९औं मिनटमा रातो कार्ड देखाइयो। यस ग्रुपको अन्य एउटा म्याचमा मार्सेलीले पोर्तुगलको क्लब स्पोर्टिंगलाई २-०-ले पराजित गऱ्यो। म्याचमा स्पोर्टिंगका दुईजना खेलाड़ीलाई रातो कार्ड देखाइयो। ग्रुप डी-मा अहिले टोटनह्याम ७ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि गोल अन्तरको आधारमा मार्सेली ६ पोइण्ट लिएर दोस्रो स्थानमा रहेको छ।
यसबीच बेल्जियमको टीम क्लब ब्रूगेले एट्लेटिको म्याड्रिड विरुद्ध गोलरहित ड्र (०-०) खेलेर ग्रुप बी-बाट टुर्नामेण्टको नक्आउट राउण्डमा स्थान बनायो। क्लब ब्रूगेले अहिले ४ वटा म्याचमा १० पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। यसरी नै ४ पोइण्टको साथ तेस्रो स्थानमा रहने एट्लेटिको चाहिँ यस ड्र-ले चेपारोमा परेको छ। ग्रुपको अन्य एउटा म्याचमा एफसी पोर्तोले जर्मन क्लब बायेर लेवरकुसेनलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मेहदी टारेमीले ५३औं र ६४औं मिनटमा २ गोल गरे। पोर्तो अहिले ६ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ।











