खरसाङ: चुनाउ आचार संहिता उल्लघंनको आरोपमा भारतीय जनता पार्टीको झण्डा लगाएको गाडी जफ्त हुनुको साथै गाडीमा सवार मानिसहरु पक्राउ परेको जानकारी प्राप्त भएको छ।बंगाल विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको चुनाउ प्रचार प्रसार बुधबार साँझ छ बजी समाप्त भए पनि खरसाङमा भारतीय जनता पार्टीको झण्डा लगाएर आएको गाडी देखिएकोले रोकिएको छ। बुधवार साँझ खरसाङ बजारमा भारतीय जनता पार्टीको झण्डा लगाएको युपी नम्बरको गाडी आएपछि खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरुले चुनाउ आचार संहिताको उल्लघंन भन्दै रोकेको जानकारी प्राप्त भएको छ। चुनाउ प्रचार प्रसारको समय समाप्त भएर पनि यसरी भारतीय जनता पार्टीको झण्डा लगाएको गाडी आएको साथै गाडीभित्र पनि भाजपाको पर्चीहरु रहेको भन्दै रोकिएको बताइएको छ। चुनाउ प्रचारको समय सकेर पनि यसरी खुल्ला रुपमा झण्डा लगाएर हिँड्नु चुनाउ आचार संहिताको उल्लघंन गरेको आरोप छ। उक्त गाडीलाई पछिबाट सोधपुछको लागि पुलिस प्रशासनले खरसाङ थाना लगेर छानबीन प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएको छ। उक्त गाडीलाई पुलिसले जफ्त गरेर पुलिस थानामा राखिएको र छानबीन शुरु गरिएको पुलिसले जानकारी गराएका छन्। यसको साथै खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरझा अनिस शाहले बताए अनुसार जफ्त गरिएको गाडीको पहिलो चरणको छानबीन भएको र यस गाडी विषयमा मजिस्ट्रेट आएर मात्र निर्णय हुने बताएकी छन्। उल्लेखनीय छ, उक्त गाडी उत्तर प्रदेशको गोरखपुरबाट आएको र गाडीको अघितिर भारतीय जनता पार्टीको झण्डा लगाइएको थियो। समाचार लेखुञ्जेलसम्म यस गाडी विषयमा निर्णय भएको थिएन।










