चीनले बढायो नेपालमा बीआरआई कार्यान्वयनमा दबाव

00-1-kpo_115

काठमाडौं: चीनले नेपालमा बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) कार्यान्वयनमा दबाव बढाएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चुआन च्या च्युन नेपालका प्रमुख नेताहरुसँगको भेटवार्तामा बीआरआई कार्यान्वयनमा चासो व्यक्त गरेका हुन्। चुआनले बीआरआई सम्बन्धी सम्झौता २०१७ मा भइसके पनि कार्यान्वयनको घोषणा नहुनुबारे प्रश्न गरेका छन्। उनले यसबारे मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि यसबारे चासो राखेको विश्वस्त स्रोतले हिन्दुस्थान समाचारलाई बताएको छ।

ओली प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भएको थियो। तर, २०२२ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अनुदान भएमात्र स्वीकार्न सकिने जवाफ नेपाल सरकारले चीनलाई दिएको थियो। चीन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई बीआरआईअन्तर्गत भनिरहेको छ। जुन नेपालले स्वीकारेको छैन। चिनियाँ नेता चुआनले नेपालका नेताहरुसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनबारे पनि कुराकानी गरे। १ जनवरी २०२३ मा उद्घाटन भएपनि यो विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। चीनको ऋणमा विमानस्थल निर्माण भएको हो।

चुआनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेप्टेम्बरमा हुने चीन भ्रमणबारे पनि छलफल गरेका छन्। प्रचण्डसँग उनको आइतबार भर्चुअल संवाद भएको थियो। चिनियाँ नेता चुआनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरे। चुआनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत नेताहरुसँग एकसाथ भेटेका थिए। चुआन तीन दिवसीय नेपाल भ्रमणका लागि श्रीलंका हुँदै आइतबार काठमाडौं पुगेका हुन्। -हिस

About Author

Advertisement