नयाँ दिल्ली: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल र तेल कम्पनीहरूको बढ्दो घाटाका बीच भारत सरकारले पेट्रोल र डीजलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। विगत चार वर्षयता इन्धनको मूल्यमा गरिएको यो पहिलो वृद्धि हो। चार राज्यको विधानसभा चुनाव सकिएको १६ दिनपछि सार्वजनिक गरिएको यो निर्णयले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको छ। पश्चिम एशियामा जारी तनाव र इरान–इजरायल संघर्षका कारण होर्मुज जलडमरूमध्यमा अवरोध सृजना हुँदा विश्व बजारमा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो, जसको प्रत्यक्ष असर अहिले भारतीय बजारमा देखिएको हो।
नयाँ मूल्य वृद्धिसँगै राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य ९७.७७ रुपैयाँ र डीजलको ९०.६७ रुपैयाँ प्रतिलिटर पुगेको छ भने मुम्बईमा पेट्रोल १०६.६८ रुपैयाँ पुगेको छ। यसअघि चुनावका कारण तेल कम्पनीहरूले लामो समयदेखि मूल्य स्थिर राख्दै दैनिक करिब एक हजार करोड भारु घाटा बेहोर्दै आएका थिए। पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले कम्पनीहरूको कुल घाटा करिब एक लाख करोड पुगेको जानकारी दिँदै यो वृद्धिलाई सन्तुलन मिलाउने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। यता इन्धनको मूल्य वृद्धिसँगै थोक मुद्रास्फीति ४२ महिनायताकै उच्च विन्दु ८.३ प्रतिशतमा पुगेकाले बजारमा महँगी अझ बढ्ने संकेत देखिएको छ। बढ्दो आयात खर्च घटाउन प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सार्वजनिक यातायातको प्रयोग गर्न र इन्धन खपत कम गर्न समेत अपिल गर्नुभएको छ।









