घरेलु हिंसा र दाइजो प्रथा विरुद्ध रोङ्गे ताथाङचेनमा सचेतना कार्यक्रम

FB_IMG_1784128197574

​गान्तोक: ​महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग अन्तर्गत जिल्ला महिला सशक्तीकरण केन्द्र (डिस्ट्रिक्ट हब फर एम्पावरमेन्ट अफ वुमेन), गान्तोकको तत्वावधानमा आज रोङ्गे ताथाङचेन जीपीयूमा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। महिलाहरूमाथि हुने घरेलु हिंसा संरक्षण ऐन, २००५ र दाइजो निषेध ऐन, १९६१ का विषयमा केन्द्रित रहेर आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा ग्रामवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
​कार्यक्रमको प्रारम्भमा लैङ्गिक विशेषज्ञ (जेन्डर स्पेसलिस्ट) निशा हाङ्मा लिम्बूले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेकी थिइन्। उनले केन्द्र सरकारको महत्वाकाङ्क्षी योजना ‘मिशन शक्ति’ र यसका उद्देश्यहरूबारे प्रकाश पार्दै महिलाहरूको सुरक्षा, सशक्तीकरण र कल्याणका लागि यो योजना निकै प्रभावकारी सिद्ध भइरहेको जानकारी दिइन्। यसै क्रममा जिल्ला मिशन संयोजक बिरेन गिरीले ‘वान स्टप सेन्टर’ (ओएससी) ले प्रदान गर्ने सेवाहरूबारे विस्तृत जानकारी गराएका थिए। उनले हिंसा र पीडामा परेका महिलाहरूका लागि उपलब्ध सहयोग प्रणाली र मिशन शक्तिका विभिन्न अङ्गहरूबारे सहभागीहरूलाई अवगत गराएका थिए।

​प्राविधिक सत्रमा मुख्य वक्ताका रूपमा उपस्थित विषय विशेषज्ञ लाह्याङ सुब्बाले घरेलु हिंसाबाट महिला संरक्षण ऐन, २००५ र दाइजो निषेध ऐन, १९६१ का कानुनी प्रावधानहरूबारे विस्तृत रूपमा व्याख्या गरेका थिए। उनले महिलाहरूको कानुनी अधिकार, सुरक्षा संयन्त्र र घरेलु हिंसाका घटनाहरूलाई समयमै रिपोर्ट गर्नुको महत्त्वमाथि विशेष जोड दिएका थिए। उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष छोङ दोङ्का, उपाध्यक्ष मुनु क्षेत्री, पञ्चायत सदस्यहरू छिरिङ डोमा शेर्पा, फूर्पा योल्मु र कर्मा सोनाम भोटिया लगायत स्थानीय बासिन्दा तथा लाभार्थीहरूको उपस्थिति रहेको थियो।
​कार्यक्रमको उत्तरार्धमा एक अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो, जसमा सहभागीहरूले घरेलु हिंसासँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा र चासोहरू राखेका थिए। विगतका दिनहरूमा यस जीपीयू अन्तर्गतका क्षेत्रहरूमा घरेलु हिंसाका केही घटनाहरू देखा परेकाले, यस छलफलले समुदायका सदस्यहरूलाई समयमै कानुनी सहायता लिन, समाजमा सचेतना फैलाउन र महिला विरुद्ध हुने हिंसा रोक्न सामूहिक रूपमा कार्य गर्न प्रेरित गरेको छ। कार्यक्रमको समापन गर्दै जिल्ला मिशन संयोजक बिरेन गिरीले पञ्चायती राज संस्थाका प्रतिनिधिहरू, विषय विशेषज्ञ, सहभागीहरू र कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement