नयाँ दिल्ली: केन्द्रीय खेल मन्त्री डा. मनसुख माण्डवियाले राष्ट्रमण्डल खेलहरू २०२६-को बक्सिंग, जूडो र प्यारा एथलेटिक्समा ऐतिहासिक प्रदर्शन गर्ने भारतीय खेलाड़ीहरूलाई सम्मानित गरे। यस अवसरमा उनले खेलाड़ीहरूसँग आफ्नो खेल जीवनपछि पनि देशको निम्ति योगदान दिँदै आउँदो पीढ़ीका खेलाड़ीहरूलाई मार्गदर्शन गर्ने अनि खेल एकाडमीहरू स्थापित गर्ने अपील गरे। सम्मान समारोहमा स्वर्ण पदक विजेताहरूलाई ३० लाख रुपियाँ, रजत पदक विजेताहरूलाई २० लाख रुपियाँ र काँस्य पदक विजेताहरूलाई १० लाख रुपियाँको पुरस्कार राशि पनि प्रदान गरियो। राष्ट्रमण्डल खेलहरूमा विशेषगरी भारतीय बक्सिंग टोलीको प्रदर्शन यादगार रह्यो। भारतीय बक्सरहरूले ग्लास्गोमा ७ वटा स्वर्ण र ३ वटा रजकको साथ जम्मा १० वटा पदक जिते। महिला बक्सरहरूमा प्रीति पवार (५४ किग्रा), जेस्मिन लम्बोरिया (५७ किग्रा), साक्षी चौधरी (५१ किग्रा), प्रिया घंघास (६० किग्रा) र अरुन्धति चौधरी (७० किग्रा)-ले स्वर्ण पदक जिते। यसरी पुरुषहरूमा सचिन सिवाच (६० किग्रा) र अंकुश पंघाल (८० किग्रा)-ले गोल्डन पञ्च लगाए। यसबाहेक जादुमणि सिंह, लवलीना बोरगोहेन र नरेन्द्र बेरवालले रजत पदक हासिल गरे। भारतीय बक्सरहरूले सातवटा स्वर्णको साथ राष्ट्रमण्डल खेलहरूको इतिहासमा अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन गरे। भारतीय जूडो टोलीले पनि यसपाली आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै २ वटा स्वर्ण, एउटा रजत र एउटा काँस्यको साथ जम्मा ४ वटा पदक जित्यो। खेलो इण्डिया खेलाड़ी अस्मिता दे र हर्ष सिंहले भारतको निम्ति जूडोमा पहिलो राष्ट्रमण्डल स्वर्ण पदक जितेर इतिहास रचे। अस्मिता राष्ट्रमण्डल स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला जूडोका बनिन्। यसरी हर्ष यस उपलब्धिलाई हासिल गर्ने पहिलो भारतीय पुरुष जूडोका बने।
समारोहमा प्यारा एथलेटिक्स टोलीलाई पनि सम्मानित गरियो। ग्लास्गोमा भारतीय प्यारा खेलाड़ीहरूले पनि असाधारण प्रदर्शन गर्दै इतिहास रचे। खेल मन्त्री माण्डवियाले यस अवसरमा भने, खेलाड़ीहरूका लक्ष्य पदक जितेर सरकारी नौकरी हासिल गर्ने मात्र हुनु हुँदैन। उनीहरूले खेलबाट सन्न्यास लिएपछि देशका नयाँ प्रतिभाहरूलाई तयारी गर्ने जिम्मेवारी पनि निर्वाह गर्नु पर्नेछ। केन्द्र सरकारले संशोधित खेलो इण्डिया योजनाको निम्ति ३६,००० करोड़ रुपियाँ निवेश गरेको छ, जसले देशमा खेलहरूको विकासलाई गति प्राप्त हुन्छ। खेल मन्त्रीले खेलाड़ीहरूसँग भविष्यमा आफ्नो खेल एकाडमी शुरु गर्ने अनि युवा खेलाड़ीहरूलाई प्रशिक्षण दिने पनि आग्रह गरे। माण्डवियाले खेलाड़ीहरूसँग राष्ट्रमण्डल खेलहरूको सफलतालाई एशियाई खेलहरू २०२६-मा पनि जारी राख्ने परामर्श दिए। उनले भने, रजत र काँस्य पदक जित्ने खेलाड़ीहरूका लक्ष्य स्वर्ण पदक हुनु पर्नेछ। यसरी स्वर्ण पदक विजेताहरूले आफ्नो प्रदर्शनलाई कायम राख्नु पर्नेछ। यसबाहेक खेलाड़ीहरूले आफ्नो प्रशिक्षकको योगदानलाई पनि कहिले भुल्नु हुँदैन। एकजना गुरुको मार्गदर्शनले खेलाड़ीहरूलाई जीवनभरि अघि बढ़ने प्रेरणा दिन्छ। उल्लेखनीय छ, राष्ट्रमण्डल खेलहरूमा पदक जित्ने खेलाड़ीहरूलाई खेलो इण्डिया, टारगेट ओलम्पिक पोडियम (टप्स), एनुएल क्यालेण्डर फर ट्रेनिंग एण्ड कम्पीटिशन (एसीटीसी), भारतीय खेल प्राधिकरण (साई)-को राष्ट्रिय उत्कृष्टका केन्द्रमा प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भागीदारी, उपकरण र प्रशिक्षण जस्ता विभिन्न सरकारी योजनाहरूको लाभ प्राप्त हुन्छ।










