अगस्ट अन्तिमदेखि ‘सी’ डिभिजन र अन्तर-विद्यालय लिग हुने
ग्याल्सिङ: ग्याल्सिङ जिल्ला फुटबल संघ (जीडीएफए) को एक महत्त्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ। सिक्किम फुटबल संघ (एसएफए) र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को निर्देशिका अनुसार हिजो २७ जुन २०२६ का दिन विभिन्न क्लब तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा उक्त बैठक आयोजन गरिएको हो।
बैठकको मुख्य उद्देश्य आगामी जिल्ला तथा राज्य स्तरका खेलकुद प्रतियोगिताहरूमा खेलाडीहरूलाई विना कुनै बाधा सहभागी गराउनका लागि एआईएफएफको ‘सिएआरएस’ प्रणालीमा क्लब र खेलाडीहरूको अनिवार्य दर्ता गराउनु रहेको थियो। संघले आगामी लिग सुरु हुनुभन्दा अगाडि वा एक महिनाभित्र सम्पूर्ण क्लबहरूलाई यो दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
बैठकमा आगामी अगस्ट महिनाको अन्त्यसम्ममा सुरु हुने ‘जीडीएफए सी डिभिजन लिग’ सहित ‘अन्तर-विद्यालय १५ वर्षमुनिका छात्र’ (यू-१५) र ‘१७ वर्षमुनिका छात्रा’ (यू-१७) लिग प्रतियोगिताहरूको आयोजनाबारे विस्तृत छलफल भयो। यस पटक तल्लो स्तर (ग्रासरुट लेभल) बाटै फुटबलको विकास गर्नका लागि अन्तर-विद्यालय लिग प्रतियोगिताहरूमा विशेष जोड दिइएको छ।
बैठकको सुरुमा जीडीएफएका अध्यक्ष नामग्याल भोटियाले सबैलाई स्वागत गर्दै आगामी सी डिभिजन लिग र अन्तर-विद्यालय प्रतियोगिताहरूको रूपरेखा प्रस्तुत गर्नुभएको थियो। त्यसपछि खुला छलफल र अन्तक्रिया सत्र सञ्चालन गरिएको थियो।
उक्त महत्त्वपूर्ण बैठकमा खेलकुद तथा युवा मामिला विभागकी अतिरिक्त निर्देशक निकजे ल्हामु भोटिया, जीडीएफएका संयुक्त सचिव राजेन तामाङ, संघका सम्पूर्ण कार्यकारी सदस्यहरू तथा विभिन्न विद्यालयका शारीरिक शिक्षा शिक्षकहरूको उपस्थिति रहेको थियो।
खेलकुद विभाग, फुटबल संघका सदस्यहरू र विद्यालयका प्रतिनिधिहरूले आगामी दिनहरूमा ग्याल्सिङ जिल्लामा फुटबलको व्यवस्थित र निरन्तर विकासका लागि एकजुट भएर सहकार्य गर्ने सामूहिक प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको छ।











