गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट पद्मश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङसहित चारजनालाई सम्वर्ध्दना

IMG-20260414-WA0111

हाम्रो लोक संगीत समृद्ध छ तर यसलाई संरक्षणको आवश्यकता छ: नरेन गुरुङ

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा पहिलो वैशाखको दिन सांस्कृतिक शोभायात्रा निकालेर खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सम्वर्ध्दना कार्यक्रम आयोजना गरिएको छ।‌ यस अवसरमा गोर्खाली नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा सम्वर्ध्दना साथै नवोदित कलाकारहरुद्वारा मिश्रित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ। उक्त सम्वर्ध्दना कार्यक्रमको अध्यक्षता गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा पद्मश्री प्रापक पर्यावरणविद् एंव वैज्ञानिक डा एकलव्य शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा अति विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु क्रमैले डीएस दर्नाल, जीबी बल, युवराज काफ्ले आदि उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट गुरु गोरखनाथको प्रतिकृतिमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा नौमति बाजाको धुनको साथमा शुरु गरिएको थियो। कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको उदवोधन गीत प्रस्तुत गरिएको छ जसको शब्द आशा मुखिया लामाको र संगीत सहदेव चामलिङको रहेको छ। कार्यक्रममा मादले टोली तीनधारेको पक्षमा मादले गीत प्रस्तुत गरिएको थियो भने नृत्य पनि प्रस्तुत गरिएको थियो। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङले राखेकी थिइन्।

यसै कार्यक्रममा सिक्किमका वरिष्ठ लोक संगीतकार एंव पद्मश्री प्रापक नरेन गुरुङ, वरिष्ठ लोक साहित्यकार शंकरदेव ढकाल, खरसाङ क्षेत्रकै सारंगीवादक प्रेम गन्धर्व र गोर्खा कर्मयोगी नारी आशा प्रधानलाई गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट सम्वर्ध्दना जनाइएको छ।‌ सबै सम्वर्ध्दितहरुलाई खदार्पणसहित शिर शोभा, सुनजडित खुकुरी र स्मृति चिन्ह प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। कार्यक्रममा सम्वर्ध्दितहरु व्यक्तित्व पद्मश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङले आफ्नो सम्बोधनमा आफुले २००१ देखि लोक संगीतमा लगातार बेजोड रुपमा काम गरेको र २००४ मा भारतको संगीत नाटक अकादमीले सम्मान जनाएको र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न मौका पाएको बताए। उनले भने, ‘हाम्रो लोक संगीत माधुर्यताले भरिएको छ। हाम्रो लोक संगीत धनी छ। हाम्रो सोरठी, झ्याउरे, श्लोक लगायत अन्य धनी छ तर यसलाई संरक्षण र सम्बर्द्धनको आवश्यकता छ।’ उनले अघि भने, हाम्रो हरेक रहन शहरमा लोक संगीतको बीट छ। गौडा गौडामा लोक भाका छ। हाम्रो मारुणीमा अलग्गै महत्त्व छ। हाम्रो मारुनीलाई पनि भारतको अन्य गीत संगीतलाई जस्तै एफिलियशन गर्न पाएको भए धेरै राम्रो हुने थियो।’

पद्मश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङले अझ भने, हाम्रो लोक संगीत समृद्ध छ। यसलाई संरक्षण गर्न आवश्यक छ। दार्जिलिङ, कालेबुङ, खरसाङले राम्रो काम गरिरहेको छ। हाम्रो गीत संगीत र साहित्यको जगेरा गर्न आवश्यक छ। लोक संगीतको संरक्षण र सम्बर्द्धनमा काम गर्न आवश्यक छ। कार्यक्रममा सम्वर्ध्दित आशा प्रधानले पनि वक्तव्य राखेका थिए। यस सम्वर्ध्दना कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले शोभायात्रामा उपस्थित सबै सबैलाई धन्यवाद दिएका छन्। उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, सम्वर्ध्दितहरु, कलाकारहरु लगायत सबै सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement