१६ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको पहिलो म्याच (पूल ए)-मा क्यामरुन सेभेनले राजबारी युनाइटेड (दार्जीलिङ)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमका मार्टिनलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याच (पूल बी)-मा तीनधारेको चाँद एफसीले एसएसएफसी सालबारीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। म्याच हारे पनि एसएसएफसी-का गोलकीपर प्रतीक लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा वाईजीएफसी खरसाङ र डोंग्स इलेभेन इण्डो-भूटानबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।










