खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा हरेक वर्ष झैं यसपाली पनि दुर्गा पूजा श्रध्दा र भक्तिको साथमा विधिपूर्वक पालन गरिन्दैछ। सन् १९१३ मा स्थापित भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो साहित्यिक र सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङमा यस क्षेत्रमा सबैभन्दा पुरानो समयदेखि दुर्गा पूजा आयोजन गर्दै आईरहेको छ। यसपाली पुस्तकालयमा ९६ औं दुर्गा पूजा महोत्सव आयोजना गरिएको छ। यस महोत्सव अन्तर्गत षष्ठी तिथिको दिन खड्क पूजा आरती एंव मालश्री गायन कार्यक्रम सम्पन्न भएको छ। गोर्खा जातिमा षट्ठी तिथिको दिन खड्क पूजा आयोजना गर्नुको एक विशेष महत्व रहेको छ। विगत चार दशकदेखि पुस्तकालयमा खड्क पूजा आयोजना भईरहेको छ। यस अवसरमा पूजा अर्चनासहित माताको प्रतिमा अनावरण गरिएको छ।यस अवसरमा अतिथिक रुपमा पूर्व सांसद शान्ता छेत्री, पूर्व सभासद श्याम शेर्पा, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, जोगेन्द्र प्रसाद, राजेन्द्र प्रसाद अग्रवाल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस अवसरमा प्रतिमा प्रायोजक आशा प्रधान र अभिषेक गुप्ता, सर्वाधिक चन्दा संकलन गरिदिएकोमा देवराज राई प्रत्येक वर्ष प्रसाद आदि प्रदान गर्ने राजेन्द्र प्रसाद अग्रवाललाई सम्मानित गरिएको थियो। यस पूजा अनुष्ठानका प्रमुख पुजारी दिपक प्रसाद भण्डारी रहेका थिए। यस कार्यक्रमलाई पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेका थिए। गोर्खा जनपुस्तकालय खरसाङका सचिव गोमा सुब्बाले जानकारी गराए अनुसार गोर्खा जनपुस्तकालय खरसाङमा गत ११ अक्टोबरदेखि पूजा शुरु भएको र यो आगामी २१ अक्टोबरसम्म नौ दिवसीय पूजा आयोजना भईरहेको छ। गोर्खा जनपुस्तकालय खरसाङमा पारस्परिक सजावटको साथमा प्लास्टिकमुक्त पूजा र ईको फ्रेण्डली पूजा आयोजना भईरहेको छ। उनले बताए अनुसार यस पूजामा विभिन्न सचेतनामूलक पोष्टरहरु टाँसिएको छ जसमा विभिन्न वाद्य वादनहरु पनि प्रदर्शन गरिएको छ। यो पूजा आगामी २१ अक्टोबरसम्म चल्ने भएको छ।





