सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टि निम्न सोनादा नाली चाउर शाखाको सांगठनिक सभा सम्पन्न भएको छ। समष्टि अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा बसेको सभालाई सचिव किशोर थापाले संचालन गरेका थिए। यसै क्रममा सांगठनिक सभामा भूल भ्रान्तिवंश अन्य राजनैतिक दलहरुमा गएका सदस्यहरुलाई पार्टीमा पुनः प्रवेश गर्ने सदस्यहरुलाई खदा लगाएर स्वागत जनाइएको छ।
यसै क्रममा भुपेन गुरुङले सभालाई सम्बोधन गर्दै भने, जीटीएको कुर्सीमा बस्नेहरुले सर्वसाधारण जनतालाई प्रलोभन देखाएर जीटीएमा कार्यरत कर्मचारीहरुलाई सरुवा गर्ने धम्की दिएर प्रजातान्त्रिक मोर्चाको झण्डा थमाउने कार्यहरू गर्दै आएको सबैलाई जानकारी छ। डर अनि करकापले पार्टीको झण्डा थापेर बस्नेहरु धेरै छन्। आज धेरैजना नाली चाउर शाखाबाट आफ्नो पुरानो घर फर्की आएका छन्। हामी वहाँहरुलाई स्वागत जनाउँदछौँ। तपाईंहरुले कुनै पनि असजिलो पन महसुस गर्नु हुँदैन। पहिला जस्तो थियो अहिले पनि त्यस्तै हो तपाईंहरु। गोरामुमो भनेको गोर्खा जातिको मुद्दाको निम्ति कार्य गरिरहेको दल हो। गुरुङले अझ भने, ‘पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीको तर्फबाट भारत सरकारलाई बुझाउनु पर्ने सम्झाउनु पर्ने दस्तावेजहरु बुझाएका छन्। सोही अनुरुप गृहमन्त्री अमित शाहले गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था गोर्खाहरुको निम्ति दिने वचन दिएका छन्। यसकारण अब सबैजना एक भएर अगि आउनु पर्छ। भारत देशको संविधानको प्रावधान अनुरुप गोर्खाहरुले न्याय पाएपछि राजनीति पछि गर्दा हुन्छ।










