अहमदाबाद: आईपीएल २०२६-को ६६औं म्याचमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्स (सीएसके)-लाई ८९ रनले सजिलै पराजित गऱ्यो। यस जीतको साथ प्लेअफ्-मा अगावै स्थान पक्का गर्ने गुजरात टाइटन्स १४ वटा म्याचमा १८ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलमा नेट रन रेटको आधारमा दोस्रो स्थानमा कायम रह्यो। यसरी ५ पल्टको च्याम्पियन सीएसके-को आईपीएल अभियान चाहिँ समाप्त भयो। सीएसके १४ वटा म्याचमा १२ पोइण्ट्सको साथ सातौं स्थानमा रहन पुग्यो। नरेन्द्र मोदी स्टेडियममा बिहीवार टस हारेर पहिला ब्याटिंग गर्दै गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २२९ रनको विशाल स्कोर बनायो। ओपनर साई सुदर्शनले सर्वाधिक ८४ रन बनाए। उनले ५३ बल खेलेर ७ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक कप्तान शुभमन गिलले ६४ र जोस बटलरले अविजित ५७ रन बनाए। सुदर्शन र गिलले पहिलो विकेटको निम्ति १२.२ ओभरमा १२५ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाए। गिलले ३७ बलको सामना गरी ७ वटा चौका र ३ वटा छक्का लगाए। यसरी बटलरले २७ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। सुदर्शन र बटलरले दोस्रो विकेटको निम्ति ८२ रन जोड़े। जवाफमा सीएसके १३.४ ओभरमा १४० रन बनाएर अलआउट भयो। सीएसके-को तर्फबाट शिवम दुबेले सर्वाधिक ४७ रन बनाए। उनले १७ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। शुरुदेखि नै लगातार विकेटको पतनले गर्दा यस महत्त्वपूर्ण म्याचमा सीएसके-ले ईनिंग्स सम्हाल्न सकेन। म्याथ्यू शर्टले २४ रन बनाए। यसरी कार्तिक शर्मा र अंशुल कम्बोजले १९-१९ रनको योगदान दिए। गुजरातका बलरहरूमा मोहम्मद सिराज, कगिसो रबाडा र राशिद खानले ३-३ विकेट लिए।









