गुजरात टाइटन्सलाई २९ रनले पराजित गरी प्लेअफ्-को रेसमा कायम रह्यो केकेआर

IMG-20260516-WA0085

काेलकत्ता: आईपीएल २०२६-को ६०औं म्याचमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरी प्लेअफ्-मा स्थान बनाउने सम्भावनाहरूलाई कायम राख्यो। गुजरात टाइटन्स यस हारपछि पनि १३ वटा म्याचमा १६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी केकेआर १२ वटा म्याचमा ११ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। ईडन गार्डन्समा शनिवार टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा २ विकेट गुमाएर २४७ रनको विशाल स्कोर बनायो। ओपनर फिन एलनले सर्वाधिक ९३ रन बनाए। उनले ३५ बल खेलेर १० वटा छक्का र ४ वटा चौका लगाए। कप्तान अजिंक्य रहाणे (१४ रन)-लाई शुरुमै गुमाएपछि एलनले युवा अंगकृष रघुवंशीसँग मिलेर दोस्रो विकेटको निम्ति ९५ रनको पार्टनरशीप गरी स्कोर १३९ रनसम्म पुऱ्याए। त्यसपछि रघुवंशीले क्यामरन ग्रीनसँग तेस्रो विकेटको निम्ति १०८ रनको पार्टनरशीप गरी टीमको स्कोर २४७ रनसम्म पुऱ्याए। रघुवंशीले ७ वटा छक्का र ४ वटा चौकाको सहायताले ४४ बलमा अविजित ८२ रन बनाए। यसरी ग्रीनले २८ बलमा ४ वटा छक्का र ३ वटा चौकाको सहायताले अविजित ५२ रन बनाए। गुजरातका बलरहरूमा मोहम्मद सिराज र साई किशोरले १-१ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो। कप्तान शुभमन गिलले सर्वाधिक ८५ रन बनाए। उनले ४९ बल खेलेर ७ वटा छक्का र ५ वटा चौका लगाए। यसबाहेक जोस बटलरले ५ वटा चौका र २ वटा छक्काको सहायताले ३५ बलमा ५७ रन बनाए। ईनिंग्सको शुरुवातमा रिटायर्ड हर्ट भए पनि टीमको निम्ति फेरि मैदानमा आउने साई सुदर्शनले अविजित ५३ रनको योगदान दिए। उनले २८ बल खेलेर ६ वटा चौका र ३ वटा छक्का लगाए। केकेआर-का बलरहरूमा सुनिल नारेनले सर्वाधिक २ विकेट लिए।

About Author

Advertisement