बेंगलुरु: आईपीएल २०२६-को ३४औं म्याचमा गत सीजनको विजेता रोयल च्यालेञ्जर्स बेगलुरु (आरसीबी)-ले गुजरात टाइटन्सलाई सजिलै ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथ आरसीबी ७ वटा म्याचमा १० पोइण्ट्सको साथ असल नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको दोस्रो स्थानमा पुग्यो। यसरी लगातार दोस्रो हारको सम्मुखीन हुने गुजरात टाइटन्स ६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरातले ओपनर साई सुदर्शनको शतक (१०० रन)-को सहायताले २० ओभरमा ३ विकेट गुमाएर २०५ रनको मजबूत स्कोर बनायो। त्यसपछि आरसीबी-ले १८.५ ओभरमै ५ विकेटमा २०६ रन बनाएर जीत हासिल गऱ्यो। ओपनर जेकब बेथेल केवल १४ रन बनाएर आउट हुँदा आरसीबी-को स्कोर २६ रन रहेको थियो। त्यहाँबाट अनुभवी विराट कोहली र देवदत्त पडिक्कलले दोस्रो विकेटको निम्ति ११५ रनको म्याच जिताउने पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। कोहलीले ८ वटा चौका र ४ वटा छक्काको सहायताले ४४ बलमा ८१ रन बनाए। यसरी पडिक्कलले ६ वटा छक्का र २ वटा चौकाको सहायताले २७ बलमा ५५ रन बनाए। कप्तान रजत पाटीदार ८ र जितेश शर्मा १० रन बनाएर आउट भए पनि टिम डेविडले अविजित १० र क्रुणाल पाण्ड्याले अविजित २३ रन बनाएर सजिलै टीमलाई जीत दिलाए। गुजरातका बलरहरूमा स्पिनर राशिद खानले सर्वाधिक २ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने गुजरातको ईनिंग्समा साई सुदर्शनको शतक मुख्य आकर्षण रह्यो। उनले ५८ बल खेलेर ११ वटा चौका र ५ वटा छक्काको सहायताले १०० रन बनाए। सुदर्शनले कप्तान शुभमन गिलसँग पहिलो विकेटको निम्ति १२.४ ओभरमा १२८ रनको पार्टनरशीप गरे। गिलले २४ बलमा ३२ रन बनाए। यसबाहेक जोस बटलरले २५ रनको योगदान दिए। वाशिंगटन सुन्दर १९ र जेसन होल्डर २३ रनमा अविजित रहे।











