इस्लामावाद: ईरान र अमेरिकाबीचको तनाव कम गर्ने प्रयासस्वरूप दुवै देशका उच्च प्रतिनिधिमण्डलहरू पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र जेरेड कुश्नर वार्ताका लागि आज इस्लामावाद प्रस्थान गर्दैछन् भने ईरानका विदेशमन्त्री अब्बास अरागची शनिबार बिहानै आफ्नो टोलीसहित त्यहाँ पुगिसक्नुभएको छ। यद्यपि, ईरानी विदेश मन्त्रालयले अमेरिकी प्रतिनिधिमण्डलसँग तत्काल कुनै प्रत्यक्ष बैठकको योजना नरहेको स्पष्ट पार्दै आफ्ना धारणाहरू मध्यस्थकर्ता पाकिस्तानमार्फत मात्र पुर्याउने रणनीति लिएको छ।
यसअघि अप्रेल ११ र १२ मा भएको पहिलो चरणको वार्ता असफल भएपछि अहिले पुनः सहमतिको प्रयास थालिएको हो। अमेरिकी रक्षामन्त्री पीट हेगसेथले ईरानलाई ‘राम्रो सम्झौता’ गर्ने अवसर रहेको उल्लेख गर्दै त्यसका लागि इरानले ठोस र प्रमाणित रूपमा परमाणु हतियारको मोह त्याग्नुपर्ने शर्त राख्नुभएको छ। यता ह्वाइट हाउसले इरान वार्ताका लागि इच्छुक देखिएको र राष्ट्रपति ट्रम्प सधैँ कूटनीतिलाई अवसर दिन तयार रहेको जनाएको छ। यदि यो वार्तामा केही सकारात्मक प्रगति देखिएमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स समेत आवश्यक परेको खण्डमा इस्लामावाद आउन सक्ने बताइएको छ।
हाल होर्मुज स्ट्रेटमा अमेरिकाले आफ्नो नाकाबन्दी अझ कडा पार्दै लगेका कारण विश्व बजारमा तेल र एलएनजीको आपूर्तिमा समस्या देखिएको छ र मूल्य समेत आकाशिएको छ। ईरानी विदेशमन्त्री अरागचीले पाकिस्तानी उच्च अधिकारीहरूसँग द्विपक्षीय र क्षेत्रीय सुरक्षाका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ। दुवै पक्ष आ-आफ्नो अडानमा अडिग देखिए पनि पाकिस्तानको मध्यस्थतामा हुन लागेको यो दोस्रो चरणको प्रयासलाई विश्वले निकै चासोका साथ हेरिरहेको छ।








