आगामी अगस्टभित्र विद्युतीय फोहोर सङ्कलन केन्द्र स्थापना गर्न निर्देशन
गान्तोक: सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) को मार्ताम ल्यान्डफिल साइट (फोहोर व्यवस्थापन केन्द्र) लाई फोहोर प्रशोधनको उत्कृष्ट केन्द्र (सेन्टर फर एक्सीलेन्स) का रूपमा रूपान्तरण गर्ने परिकल्पना अनुरूप गान्तोक नगर निगमले सक्रियता बढाएको छ। यसै सिलसिलामा नगर निगमका आयुक्त (कमिशनर) श्री ग्याडेन (ग्यारी) छोपेल र नगर निगमका अधिकारीहरूको टोलीले मार्ताम ल्यान्डफिल साइटको एक व्यापक स्थलगत निरीक्षण गरेको छ।
उक्त निरीक्षण भ्रमणमा संयुक्त मुख्य वास्तुकार (जोइन्ट चिफ आर्किटेक्ट) श्री नरेश प्रधान, सहायक इन्जिनियर श्री डी. आर. ढकाल, जुनियर इन्जिनियरहरू र साइट इन्जिनियरहरूको उपस्थिति रहेको थियो।
सञ्चालन प्रणाली र पूर्वाधारको समीक्षा
निरीक्षणका क्रममा टोलीले फोहोर प्रशोधन गर्ने मेसिनरी, सहयोगी पूर्वाधार तथा अन्य सुविधाहरूको मौजुदा अवस्था र कार्यक्षमताको विस्तृत समीक्षा गरेको थियो। टोलीले केन्द्रको समग्र कार्यप्रणालीको मूल्याङ्कन गर्दै सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गरेको छ। साथै, वैज्ञानिक फोहोर व्यवस्थापन अभ्यास र पूर्वाधार मर्मतसम्भार मार्फत कार्यक्षमता बढाउने उपायहरूका बारेमा समेत विस्तृत छलफल गरिएको थियो।

विद्युतीय फोहोर सङ्कलन केन्द्र स्थापना गरिने
निरीक्षणका क्रममा नगर आयुक्तले आगामी अगस्ट २०२६ भित्रमा ल्यान्डफिल परिसरभित्रै एउटा छुट्टै विद्युतीय फोहोर (ई-वेस्ट) सङ्कलन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन व्यवस्थापन पक्षलाई कडा निर्देशन दिनुभएको छ।
यो पहल गान्तोक नगर निगमद्वारा सञ्चालित “वार अन वेस्ट”(फोहोर विरुद्धको युद्ध) अभियानको एक हिस्सा हो। यसले दिगो फोहोर व्यवस्थापन र वातावरणीय संरक्षणप्रति नगर निगमको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।










