गान्तोकमा ४९औँ जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप सम्पन्न

n73455532817952775355506d972fb6f51bea3a3c4264e156f28b2baeae1158f866d8a08edb711e94737939

​गान्तोक। सिक्किमका राज्यपाल दुष्यन्त गौतम आज गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरको इन्डोर ब्याडमिन्टन हलमा आयोजित ‘योनेक्स–सनराइज ४९औँ अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०२६’ को समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।
​कार्यक्रम स्थलमा पुग्दा राज्यपाल गौतम तथा प्रथम महिला लक्ष्मी गौतमलाई परम्परागत रूपमा भव्य स्वागत गरिएको थियो। सिक्किमले पहिलोपटक आयोजना गरेको यस राष्ट्रिय प्रतियोगितामा २८ राज्य र ५ केन्द्रशासित प्रदेशका ३३ टोलीबाट करिब ५०० युवा खेलाडीले सहभागिता जनाएका थिए।
​समारोहमा आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै राज्यपालले देशको गौरव बढाउने प्रमुख खेल व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभयो। सम्मानित हुनेहरूमा ओलम्पियन तीरन्दाज तरुणदीप राई, तीरन्दाज धीरज बोम्मादेवरा, एसियाली खेलकुदका स्वर्ण पदक विजेता, विश्व च्याम्पियन तथा अर्जुन पुरस्कार प्राप्त ओजस देवताले (विश्व वरीयतामा दोस्रो तथा भारतमा पहिलो स्थान) र एसियाली खेलकुदमा तेस्रोपटक स्वर्ण पदक जितेकी विश्व च्याम्पियन सिमरनजीत कौर रहनुभएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गौतमले प्रतियोगिताको सफल आयोजनाका लागि भारतीय ब्याडमिन्टन सङ्घ तथा सिक्किम ब्याडमिन्टन सङ्घको प्रयासको खुलेर प्रशंसा गर्नुभयो। यस प्रतियोगितामा राष्ट्रियस्तरको ब्याडमिन्टन इतिहासमा पहिलोपटक पूर्ण महिला अध्यक्ष अम्पायरहरूको टोली समावेश गरेर भारतीय खेलकुदमा नयाँ कीर्तिमान कायम गरिएको समेत उल्लेख गरिएको छ।
​सो अवसरमा राज्यपालले प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरूलाई पदक र ट्रफी वितरण गर्नुभयो। समारोहमा विधानसभा अध्यक्ष मिङ्गमा नोर्बु शेर्पा, शिक्षा, खेलकुद तथा युवा मामिलामन्त्री राजु बस्नेत, जनप्रतिनिधिहरू, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा सिक्किम ब्याडमिन्टन सङ्घका अध्यक्ष जेकब खालिङ, आयोजक समितिका पदाधिकारीहरू, वरिष्ठ अधिकारीहरू, विभिन्न खेल सङ्घका प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा ठूलो सङ्ख्यामा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement