प्रधानमन्त्री शाह भोलि भारत जाँदै, विमानस्थलमा राज्यमन्त्री प्रसादले स्वागत गर्ने

images

​काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार (२२ नोभेम्बर) दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
​गत २६ मार्चमा प्रधानमन्त्री पद सम्हालेयता शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
​परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली अवतरण गरेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे होटल ताजमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। भ्रमणको दोस्रो दिन सोमबार (२३ नोभेम्बर) बिहान १० बजे उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ।
​परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा मुख्य छलफल हुनेछ। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकाससम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ। दुई देशबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत शीर्ष तहमा विचारविमर्श हुनेछ। सचिव राईले उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
​द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३:१५ बजे राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। औपचारिक भेटघाट सम्पन्न गरी उनी सोही दिन अपराह्न ४:५० बजे नेपाल वायुसेवा निगमकै विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।
​प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने सरकारी प्रतिनिधिमण्डलमा ३४ सदस्य रहनेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकारलगायत वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।
​सरकारी टोलीसँगै ५२ सदस्यीय निजी क्षेत्रको व्यापारिक प्रतिनिधिमण्डल पनि भारत जाँदै छ। उक्त टोलीले आइतबार साँझ ६ बजे होटल ताजमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने ‘नेपाल–भारत व्यापार गोलमेच सम्मेलन’मा सहभागिता जनाउनेछ। सम्मेलनलाई अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

About Author

Advertisement