केन्द्रको १२ वर्षे सुशासन र सिक्किमको समृद्धिको मार्गचित्रमाथि बृहत् छलफल
गान्तोक: प्रेस इन्फॉर्मेशन ब्यूरो, पीआईबी, गान्तोकद्वारा आज गान्ताेकमा “१२ साल – विश्वासका, विकासका, जनकल्याणका” विषयमा एकदिने क्षेत्रीय मिडिया अन्तरक्रिया कार्यक्रम ‘वार्ता’ को आयोजना गरियो। यस विशेष कार्यक्रममा क्षेत्रीय सञ्चारमाध्यमका पत्रकार, प्राज्ञिक व्यक्तित्व, सूचना तथा प्रसारण मन्त्रालय र राज्य सरकारका सञ्चार अधिकारीहरूले एउटै मञ्चमा उपस्थित भई विगत १२ वर्षमा देशको सुशासन र विकासको यात्राले ल्याएको रूपान्तरणकारी परिवर्तनबारे गम्भीर समीक्षा तथा खुला छलफल गरे। सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागकी सचिव श्रीमती अन्नपूर्ण आले कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने मुख्यमन्त्रीका प्रेस सचिव श्री योगन तामाङ विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको प्रारम्भमा पिआइबी तथा आकाशवाणी समाचार गान्तोकका सहायक निर्देशक श्री मानस प्रतिम शर्माले आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र यसको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
सिक्किम सरकारको आधिकारिक धारणा राख्दै मुख्यमन्त्रीका प्रेस सचिव श्री योगन तामाङले सन् २०१४ देखिको अवधिमा केन्द्र सरकारले हासिल गरेका उपलब्धिहरू व्यापक रहेको र यसले सुशासनको बलियो उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो। उहाँले सिक्किम र यहाँका जनताको तर्फबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री बनेकोमा बधाई समेत ज्ञापन गर्नुभयो। देशमा आएको डिजिटल र आर्थिक क्रान्तिको उदाहरण दिँदै उहाँले विगत १२ वर्षमा एमएसएमई र स्टार्टअप इकोसिस्टममा व्यापक परिवर्तन आएको र आज ट्याक्सी चालकदेखि साना पसलहरूले समेत युपिआईको सहजै प्रयोग गरिरहेको बताउनुभयो। यही भुइँतहको परिवर्तनका कारण भारत आज विश्वकै चौथो ठूलो अर्थव्यवस्था बन्न सफल भएको उहाँको भनाइ थियो। केन्द्र-राज्य सम्बन्धबारे बोल्दै उहाँले विगतमा सिक्किमको आवाज नसुनिने भ्रमलाई चिर्दै केन्द्रले राज्यको सङ्घीय ढाँचालाई थप सुदृढ बनाएको स्पष्ट पार्नुभयो। मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) द्वारा सुरु गरिएको ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम’ को अभियान ‘विकसित भारत’ को लक्ष्यसँगै अघि बढिरहेको र यो सहकारी सङ्घीयताको उत्कृष्ट उदाहरण भएको उहाँले बताउनुभयो।
यसैगरी सूचना एवं जनसम्पर्क विभागकी सचिव श्रीमती अन्नपूर्ण आलेले विगत १२ वर्षको यात्रालाई विश्वास, विकास र जनकल्याणको एउटा ऐतिहासिक अध्यायको रूपमा व्याख्या गर्नुभयो। समावेशी र नागरिक-केन्द्रित सुशासनका कारण भारत आज एक आत्मविश्वासी र भविष्यका लागि तयार राष्ट्रको रूपमा उभिएको उहाँले बताउनुभयो। केन्द्र सरकारको ‘विकास पनि, विरासत पनि’ भन्ने मूल मन्त्रको प्रशंसा गर्दै उहाँले विकास र सम्पदा सँगसँगै अघि बढ्न सक्छन् भन्ने कुरा यसले प्रमाणित गरेको र यो मोडल सिक्किमको आर्थिक प्रगति, पर्यावरणीय दिगोपन र सांस्कृतिक संरक्षणको नीतिसँग ठ्याक्कै मेल खाने उल्लेख गर्नुभयो। उहाँले सिक्किमको राज्यत्वको स्वर्ण जयन्तीको अवसरमा सचिवालयमा राखिएको ‘टाइम क्याप्सुल’ को चर्चा गर्दै यसमा रैथाने बीउ र सांस्कृतिक कलाकृतिहरू सुरक्षित राखिएको र यसलाई राज्यत्वको १०० औँ वार्षिकोत्सवमा खोलिने जानकारी दिनुभयो।
कार्यक्रममा मुख्य वक्ताको रूपमा उपस्थित सिक्किम विश्वविद्यालयका प्रा. अमित चक्रवर्तीले आधिकारिक वित्तीय तथ्याङ्कहरू प्रस्तुत गर्दै विगत एक दशकमा भारतीय परिवारहरूको जीवनस्तरमा आएको गुणात्मक सुधारबारे विस्तृत जानकारी दिनुभयो। उहाँले ५८ करोडभन्दा बढी जनधन खाता, १० करोड उज्ज्वला एलपिजी जडान, ४४ करोड आयुष्मान भारत कार्ड र ४.२१ करोड पक्का घर निर्माण भइसकेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। आइएमएफको अप्रिल २०२६ को आउटलुक अनुसार भारतको अर्थतन्त्र ४.१५ ट्रिलियन डलर पुगेको र यो वार्षिक ६ प्रतिशतभन्दा बढीको दरले बढिरहेको उहाँले उल्लेख गर्नुभयो।
सिक्किमको सन्दर्भमा बोल्दै प्रा. चक्रवर्तीले राज्यको पहिलो रेल सेवा सिभोक-रङ्पो रेल लिङ्कको काम फेब्रुअरी २०२६ सम्ममा ९० प्रतिशत पूरा भइसकेको र डिसेम्बर २०२७ सम्ममा यसलाई सञ्चालन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो। आगामी दिनमा यसलाई गान्तोक र नाथुलासम्म विस्तार गर्ने सर्वेक्षण भइरहेको र सन् २०१६ देखि नै सिक्किम भारतकै पहिलो पूर्ण अर्गानिक राज्य बनेकाले यो क्षेत्र अब अवसरको नयाँ केन्द्र बनेको उहाँले प्रस्ट पार्नुभयो। ‘विकसित भारत २०४७’ अन्तर्गत इन्डिया सेमिकन्डक्टर मिसन २.० र इन्डिया-एआई मिसनले प्रविधिको क्षेत्रमा देशलाई नयाँ उचाइमा पुर्याउने विश्वास कार्यक्रममा व्यक्त गरियो। उक्त ‘वार्ता’ कार्यक्रममा मिडियाले सङ्घीय र राज्यस्तरका कल्याणकारी नीतिहरूलाई जनतासम्म पारदर्शी रूपमा पुर्याउनुपर्ने भूमिकामाथि जोड दिँदै राष्ट्रिय गानको गायनसँगै कार्यक्रमको समापन गरिएको थियो।









