गान्तोकमा इन्द्रजात्रा पर्व भव्यरूपमा पालन

IMG-20220909-WA0157.jpg

गान्तोक: नेवार समुदायको महान पर्व इन्द्र जात्रा आज राजधानीमा भव्यरूपमा पालन गरियो। सिक्किम नेवार गुठीद्वारा आयोजना गरिएको यस पर्वको समापन अवसरमा राज्यका भवन तथा आवास विभाग मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने यसरी नै विशिष्ठ अतिथिहरूमा मन्त्री भीम हाङ सुब्बा, मन्त्री एलबी दास, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

आजको समापन कार्यक्रमको पहिलो चरणमा जिरो पोइन्टस्थित भानु उद्यानमा विधिवतरूपमा कुमारीको पूजा अर्चना गरियो। पूजा अर्चनापछि त्यहाँबाट शोभा यात्रा निकालिएको थियो, जसमा उक्त शोभा यात्रा तिब्बत पथ, एमजी मार्ग मनन केन्द्रमा पुगेर समापन भयो। उल्लेखनीय छ, राज्यमा पहिलोपल्ट आठ दिवसीयरूपमा नेवार गुठीले इन्द्रजात्रा पर्व पालन गरेको हो। यस भन्दा अघि एक दिवसीय रूपमा पालन गर्दै आइरहेको थियो।

सोही प्रकारले दुई दिन राजधानीको एमजी मार्गमा पालन गरियो, जसमा विभिन्न प्रकारको प्रतियोगिताको पनि आयोजना गरिएको थियो। आज अन्तिम दिन देश विदेशका प्रसिद्ध गायक-गायिकाहरूले मनन केन्द्रमा आफ्नो प्रस्तुती दिए।

About Author

Advertisement