९ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा शिवमन्दिर युनाइटेडले बण्टी ११ मंगपूलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निश्चलले ह्याट्रिक गरे। यसबाहेक एक गोल राहुल सुब्बाले छिराए। यसरी नै बण्टी ११-बाट रुपेश गुरुङले १ गोल गरे। यसरी नै दिनको दोस्रो म्याचमा शारदा हाई स्कूल (मंगपू)-ले मल्ली पैयोंगलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अदित्य गुरुङले २ गोल गरे। यसरी नै मल्ली पैयोंगबाट हिमाल राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









