गान्तोक: साइक्लिङ एसोसिएसन अफ् सिक्किमले आज आफ्नो पहिलो कार्यक्रम गान्तोक लूप एक्ससीएम आयोजना गऱ्यो। निकै चुनौतीपूर्ण साइकल रेसमा सिक्किमलगायत छिमेकी दार्जीलिङ, कालेबुङ र सिलगढ़ीका जम्मा ४० जना राइडर्सले सहभागिता जनाएका थिए। पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सेतीपुलबाट आरम्भ भएको रेस भुसुक, रोङ्गे, छोङ्गे हुँदै गणेशटक पुगेर समापन भएको थियो।
यो रेस विभिन्न वर्गमा आयोजना गरिएको थियो भने दार्जीलिङका हेमन्त पौड्याल खुल्ला पुरुष वर्गमा प्रथम बने। उनले १ घण्टा ५६ मिनटमा रेस पूरा गरे। खुल्ला पुरुष वर्गमा जोरथाङ, सिक्किमका राज राई दोस्रो विजेता बने जसले १ घण्टा ५८ मिनटमा रेस पूरा गरेका थिए। अर्कोतिर मास्टर वर्गमा गान्तोकका अविनाश प्रधान प्रथम बने जसले २ घण्टा ४८ मिनटमा रेस पूरा गरेका थिए। दार्जीलिङका सन्नी तामाङ दोस्रो बने जसले रेस पूरा गर्न ३ घण्टा ५ मिनटको समय लिए। यसरी नै ३ घण्टा ६ मिनटमा रेस पूरा गर्ने गान्तोकका कुञ्जाङ लेण्डुप तेस्रो विजेता बने।
यसरी नै खुल्ला महिला वर्गमा सिलगढ़ीकी शितल छेत्री प्रथम भइन्। उनले रेस पूरा गर्न 3 घण्टा २६ मिनटको समय लिएकी थिइन्।










