गान्तोकका जिल्लापालद्वारा विद्यालय र बालविकास केन्द्रको निरीक्षण

FB_IMG_1782466598486

जीर्ण भवन तत्काल भत्काउन निर्देशन

गान्तोक: मनसुनका समयमा हुन सक्ने सम्भावित क्षति र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गान्तोकका जिल्लापाल (डिस्ट्रिक्ट कलेक्टर) अगवाने रोहन रमेशको नेतृत्वमा बिहीबार कोपिबारी स्यारी ग्राम पञ्चायत एकाइ अन्तर्गतका विभिन्न विद्यालय तथा बालविकास केन्द्रहरूको स्थलगत निरीक्षण गरिएको छ। जिल्लापालद्वारा साप्ताहिक रूपमा गरिँदै आएको ग्रामीण क्षेत्र अनुगमन कार्यक्रम अन्तर्गत स्यारी क्षेत्र पुगेको प्रशासनिक टोली, जिल्ला विपद् व्यवस्थापन प्राधिकरणका अधिकारी र स्थानीय जनप्रतिनिधिहरूले शैक्षिक तथा बाल हेरचाह पूर्वाधारको अवस्थाको मूल्याङ्कन गरेका हुन्।
​निरीक्षणका क्रममा दोथापु प्राथमिक विद्यालय र तल्लो स्यारी माध्यमिक विद्यालयका भवनमा बर्खाको पानी जमेर छतबाट चुहिएको पाइएको छ। साथै, दोथापु विद्यालयको पानी ट्याङ्की क्षेत्रमा सुरक्षा पर्खाल नभएको र माध्यमिक विद्यालयको भुइँ भत्किएको भेटिएको छ। यस्तै, तल्लो स्यारी पूर्व बालविकास (आईसीडीएस) केन्द्रको भवनमा पनि छत चुहिएर सिलिङ र गारोमा चिरा परेको पाइएको छ। माध्यमिक विद्यालयभन्दा माथि रहेको एउटा पुरानो र प्रयोगविहीन प्राथमिक विद्यालयको भवन जुनसुकै बेला भत्किएर खेलमैदानमा खेलिरहने विद्यार्थीलाई चोटपटक लाग्न सक्ने जोखिम देखिएपछि जिल्लापालले त्यसलाई तत्काल भत्काउन विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ। निरीक्षणपछि कोपिबारी स्यारी ग्राम पञ्चायत केन्द्रमा आयोजित समीक्षा बैठकमा जिल्लापाल रमेशले मनसुनका समयमा आउन सक्ने प्राकृतिक विपत्तिको सामना गर्न र जोखिम न्यूनीकरणका लागि स्थानीय समुदाय तथा पञ्चायत प्रतिनिधिहरू सधैँ सजग र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।

About Author

Advertisement