भद्रपुर(नेत्र बिक्रम बिमली): नेपाल–भारत सीमा जोड्ने गलगलिया (भारत)–भद्रपुर–हल्दीबारी (काजलीबजार) रेलमार्गको फाइनल लोकेशन सर्वे (एफएलएस) को काम अहिले पनि जारी रहेको छ। भारतीय रेलको निर्माण निकाय नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर कंस्ट्रक्शन) ले सूचनाको अधिकार (आरटीआई) अन्तर्गत दिएको जवाफमा उक्त जानकारी सार्वजनिक भएको हो।
बच्चुराज बरुवालले दर्ता गरेको आरटीआई निवेदनको जवाफ दिँदै एनएफआरले २६ जुन २०२६ मा परियोजनाको हालसम्मको प्रगति सार्वजनिक गरेको हो। एनएफआरका अनुसार परियोजनाको फाइनल लोकेशन सर्वे स्वीकृत भई कार्यान्वयनमा रहेको र सर्वेका लागि जारी गरिएको लेटर अफ एक्सेप्टेन्स (एलओए) को प्रतिलिपि समेत उपलब्ध गराइएको छ। सर्वेको काम हाल प्रगतिमै रहेकाले यसको ‘कम्प्लेसन रिपोर्ट’ भने अहिले उपलब्ध नरहेको पत्रमा उल्लेख छ।
यसअघि भारतीय रेल मन्त्रालयअन्तर्गत रेलवे बोर्डले ५ जुन २०२४ मा स्वीकृति पत्रमार्फत नेपालसँगको रेल सम्पर्क विस्तारका लागि गलगलिया–भद्रपुर–हल्दीबारी खण्डको १२.५ किलोमिटर नयाँ रेलमार्गको फाइनल लोकेशन सर्वे स्वीकृत गरेको थियो। उक्त सर्वेका लागि ३१.२५ लाख भारतीय रुपैयाँ बजेट विनियोजन गरिएको कागजातले देखाउँछ।
हल्दीबारी र भद्रपुरका लागि ऐतिहासिक अवसर
प्रस्तावित रेल परियोजनाले हल्दीबारीको काजलीबजार र झापाको सदरमुकाम भद्रपुर क्षेत्रलाई भारतीय रेल नेटवर्कसँग प्रत्यक्ष जोड्ने छ। यो रेलमार्ग निर्माण भएमा हल्दीबारी, भद्रपुर, इलाम र वरपरका क्षेत्रहरूबाट कृषि उत्पादन, चिया, काठ र अन्य वस्तुहरूको निर्यातमा उल्लेखनीय रूपमा फाइदा पुग्ने देखिन्छ। सुधारिएको रेल सम्पर्कले दुई देशका जनताबीच सहज आवागमन गराउनुका साथै सीमा क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन र लगानीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने आशा स्थानीय र व्यापारीहरूले गरेका छन्।
नेपाल–भारत सीमापार रेल सम्पर्क विस्तार गर्ने योजनाअन्तर्गत अघि सारिएको यो परियोजनाको सर्वे सम्पन्न भएपछि आउने प्रतिवेदनका आधारमा रेलमार्ग निर्माणको आगामी निर्णय प्रक्रिया अघि बढ्नेछ। भारतीय रेलवे बोर्डको आधिकारिक कागजातहरूले यी परियोजनाहरू द्विपक्षीय व्यापार, क्षेत्रीय विकास र दीर्घकालीन रणनीतिक कनेक्टिभिटीका लागि महत्त्वपूर्ण माध्यम बन्न सक्ने संकेत गरेका छन्।










