सिलगढी: उत्तर बङ्गाल क्षेत्रको समग्र विकास, मनसुनजन्य विपद् व्यवस्थापन र सडक सुरक्षालाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा शुक्रबार उत्तरकन्यामा एक उच्चस्तरीय प्रशासनिक समीक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङसहित उत्तर बङ्गालका विभिन्न जिल्लाको पूर्वाधार विकासबारे गहन छलफल भई महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरिएका छन्।
बैठकपछि राज्यका पर्यटन मन्त्री डा. शंकर घोषले सञ्चारकर्मीहरूलाई निर्णयहरूबारे जानकारी दिनुभयो। मन्त्री डा. घोषका अनुसार उत्तर बङ्गाल विकास विभागको कामकारबाहीलाई थप प्रभावकारी बनाउन माल्दाको गाजोलमा क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय भएको छ। यस कार्यालयले माल्दा, उत्तर दिनाजपुर र दक्षिण दिनाजपुर जिल्लाको विकास निर्माण कार्यमा समन्वय गर्नेछ।
बाढी पूर्वतयारी र उद्धारमा तदारुकता
वर्षायाम सुरु भइसकेकाले बैठकमा बाढी नियन्त्रण र पूर्वतयारीको रणनीतिमा विशेष जोड दिइएको छ। मुख्यमन्त्री अधिकारीले सबै जिल्ला प्रशासनलाई बाढीको पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) लाई सुदृढ बनाउन र सम्भावित विपद्को समयमा द्रुत उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन कडा निर्देशन दिनुभएको छ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका उपाय
हालै भएको मैनागुडी बस दुर्घटनाको पृष्ठभूमिमा सडक सुरक्षाको मुद्दालाई बैठकमा प्रमुखताका साथ उठाइएको छ। जसअन्तर्गत उत्तर बङ्गाल राज्य परिवहन निगमका बसहरूमा गति निगरानी प्रणाली (स्पीड मोनिटरिङ) जडान गरिने भएको छ। यसका साथै, रात्रिकालीन दुर्घटना रोक्न राष्ट्रिय राजमार्गहरूमा राखिएका ब्यारिकेडहरू हटाउने, निगरानी संयन्त्रलाई तीव्र पार्ने र बीएलआरओ कार्यालयहरूमा सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय भएको छ।
बैठकमा मैनागुडी बस दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहायता हस्तान्तरण गर्दै सरकारले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।










