गर्मीमा आँखा अगाडि अँध्यारो छाउने वा बेहोस हुने समस्या: कारण र बच्ने उपाय

dizzy-senior-woman-fainting-falling-260nw-2707194817

​चिलचिलाउँदो गर्मीमा कतिपय मानिसको आँखा तिमिरिझाउने वा अचानक अँध्यारो छाउने समस्या हुन्छ। अक्सर यसलाई सामान्य रक्तचाप (लो बीपी) ठानेर मानिसहरूले बेवास्ता गर्छन्, तर यो केवल लो बीपीका कारण मात्र नभएर अन्य विभिन्न कारणले पनि हुन सक्छ। यस विषयमा स्वास्थ्य विशेषज्ञका अनुसार गर्मीयाममा ब्लाक आउट वा मूर्छा (सिन्कोप) हुनुका मुख्य कारणहरू र यसबाट बच्ने उपायहरू यस प्रकार छन्:
​गर्मीमा आँखाको अगाडि अँध्यारो छाउनुका मुख्य कारण
​डिहाइड्रेसन (शरीरमा पानीको कमी): गर्मीमा अत्यधिक पसिना आउनाले शरीरबाट पानी र आवश्यक इलेक्ट्रोलाइट्स बाहिरिन्छन्। यसको पूर्ति नहुँदा रगतको मात्रा (ब्लड भोल्युम) घट्छ र रक्तचाप कम हुन जानछ। यस्तो अवस्थामा मुटुलाई मस्तिष्कसम्म पर्याप्त रगत पम्प गर्न गाह्रो पर्ने भएकाले चक्कर लाग्ने वा बेहोस हुने समस्या देखिन्छ। पिसाबको रङ गाढा पहेँलो हुनु यसको मुख्य लक्षण हो।
​हिट सिन्कोप: शरीर धेरै तातो भएपछि यसले आफैलाई चिसो बनाउने प्रक्रिया (कूलिङ मेकानिजम) सुरु गर्छ। यस क्रममा छाला नजिकका रक्तनलीहरू फैलाउँछ, जसले गर्दा रगत खुट्टा र छालातिर जम्मा हुन थाल्छ। यसले अचानक रक्तचाप घटाउँछ र मस्तिष्कले पर्याप्त अक्सिजन नपाउँदा आँखाको अगाडि अँध्यारो छाउँछ।
​हिट स्ट्रोक (लु लाग्नु): जब शरीरको तापमान नियन्त्रण गर्ने प्रणाली पूर्ण रूपमा असफल हुन्छ, तब हिट एग्जॉशन वा हिट स्ट्रोक जस्तो गम्भीर अवस्था सिर्जना हुन्छ। यो ज्यान लिने खालको पनि हुन सक्छ, जसले मस्तिष्कको कार्यप्रणालीमा गडबडी, भ्रम र बेहोसी पैदा गर्छ।
​अन्य स्वास्थ्य समस्या: मुटुको रोग, मधुमेह, वा रक्तचाप कम गर्ने औषधि सेवन गरिरहेका व्यक्तिहरूमा गर्मीका कारण बेहोस हुने जोखिम झन् बढी हुन्छ। यस्ता औषधिले डिहाइड्रेसनलाई बढावा दिन सक्छन्।
​यस समस्याबाट बच्न अपनाउनुपर्ने उपाय
​पर्याप्त पानी पिउने: शरीरलाई सधैं हाइड्रेटेड राख्नुपर्छ, जसले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ।
​अत्यधिक तापमानबाट जोगिने: चर्को घाममा बाहिर निस्कनु वा धेरै तातो पानीले नुहाउनु हुँदैन। कोठाको तापमान बढेमा पंखा वा एयर कन्डिसनरको प्रयोग गर्नुपर्छ।
​लामो समय भोको नबस्ने: खाली पेट बस्नाले पनि कमजोरी भई बेहोसी हुन सक्छ, त्यसैले समयमा सन्तुलित भोजन गर्नुपर्छ।
​रक्सीको सेवन नगर्ने: अल्कोहलले शरीरमा डिहाइड्रेसन बढाउने भएकाले गर्मीयाममा यसबाट टाढै रहनु उचित हुन्छ।
​अचानक उठबस नगर्ने: बस्दा वा सुत्दा अचानक जुरुक्क उठ्नु हुँदैन, सधैं बिस्तारै उठ्ने बानी बसाल्नुपर्छ। यदि चक्कर लागे जस्तो भएमा खुट्टा क्रस गरेर बस्नुपर्छ।
​खुकुलो कपडा लगाउने र आराम गर्ने: गर्मीमा हल्का र खुकुलो कपडा लगाउनुपर्छ। व्यायाम, बगैंचाको काम वा अन्य बाहिरी गतिविधि गर्दा बीच-बीचमा विश्राम लिनुपर्छ।
​बेहोस बिरामीलाई जबर्जस्ती पानी नपिलाउने: यदि कोही व्यक्ति बेहोस भइसकेको छ भने उसलाई जबरजस्ती पानी पिलाउने गल्ती गर्नु हुँदैन। बरु उसलाई सुरक्षित र चिसो ठाउँमा राखेर चिसो पानीले जीउ पुछिदिनुपर्छ।
​गर्मीको समयमा हुने यस्ता समस्यालाई हल्का रूपमा लिनु हुँदैन, किनकि सावधानी नै यसबाट जोगिने सबैभन्दा उत्तम उपाय हो।

About Author

Advertisement