नयाँ दिल्ली: राजस्थान रोयल्सका कप्तान रियान पराग आईपीएल २०२६-मा खराब फर्मसँग जुझिरहेका छन्। उनले ६ वटा ईनिंग्समा केवल ६१ रन बनाएका छन् अनि उनको ब्याटिंगमाथि धेरैले प्रश्न पनि उठाएका छन्। यसबीच टीम म्यानेजमेण्ट चाहिँ उनको प्रदर्शनलाई लिएर चिन्तित छैन। राजस्थानका ब्याटिंग प्रशिक्षक विक्रम राठौड़ले परागको पक्ष लिँदै उनको खेलमा कुनै कमी नभएको बताएका छन्। उनले भने, मेरो विचारमा यो केवल समयको कुरा हो। हरेक खेलाड़ीले हरेक म्याचमा रन बनाउँदैनन्। उनी चाँड़ै फर्ममा फर्किने अनि एक्लैको दममा म्याच जिताउने हामीलाई पूरा भरोसा छ। राठौड़ले बताएअनुसार, हालै चोटमुक्त भएर फर्किएको हुनाले उनको लयमा असर परेको छ। उनले भने, पराग हालै चोटबाट मुक्त भएर खेलमा फर्किएका हुन्। यसबाहेक आईपीएल अघि उनले अधिक प्रतिस्पर्धी क्रिकेट खेलेनन्। आईपीएल सजिलो टुर्नामेण्ट होइन। यसैकारण सामान्य समय लाग्नु स्वाभाविक हो। उल्लेखनीय छ, परागले जारी सीजनमा अविजित १४, ८, २०, ३, ४ र १२ रन बनाएका छन्। टीमका ओपनरहरूले असल काम गरे पनि मीडलअर्डरको कमजोरी राजस्थानको निम्ति चिन्ताको विषय बनेको छ। केकेआर-विरुद्ध पनि मजबूत शुरुवातपछि टीमले केवल १५५ रन बनाउन सक्यो। लगातार २ वटा हारपछि परागको कप्तानीलाई लिएर पनि धेरैले प्रश्न उठाएका छन्। पूर्व क्रिकेटर रविचन्द्रन अश्विनले विशेषगरी रविन्द्र जडेजाको सही प्रयोग नगरेको विषयमा परागको आलोचना गरेका छन्। यी सब आलोचनाहरूबीच राजस्थान रोयल्सको अघिल्लो म्याच लखनऊ सुपर जाइण्ट्सविरुद्ध रहेको छ।









