खरसाङ: खरसाङ बजारको हाट बजार क्षेत्रका रहेका १२३ वटा दोकानहरुको समस्यालाई लिएर खरसाङका विधायक सोनाम लामासित सभा हुने भएको छ। गत शनिवार खरसाङ नगरपालिकाको प्रशासनबाट हाट बजार क्षेत्रका १२३ वटा दोकानहरुलाई १५ दिनभित्रमा दोकानहरु सार्नु पर्ने सूचना आएपछि १२३ वटा दोकानहरुलाई लिएर विभिन्न अडकलबाजी शुरु भएको छ। यस सूचनाको विरोधमा दोकानेहरुले आफ्ना दोकानहरु दुई दिन बन्द गरेर खोलेका थिए। यसको साथै सूचना पाएका १२३ वटा दोकानेहरुलाई अफवाहमा नकुद्न विधायक सोनाम लामाले पहिलेबाट नै सुझाव दिई सकेका छन् भने उनले दोकानेहरुलाई लिएर सभा पनि आयोजना गर्ने भएको जानकारी प्राप्त भएको छ। उक्त सभा आईतवार गोर्खा जनपुस्तकालय भवनमा दिउँसो २ बजीदेखि शुरु हुने भएको जानकारी प्राप्त भएको छ। यस सभा विषयमा विधायकका प्रतिनिधि एंव भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद र खरसाङ हाट बजार व्यवसायी संगठनको सभापति राजु सेवाले जानकारी गराएका छन्।










