खरसाङ : दार्जिलिङ हिमालयन रेलवेले खरसाङदेखि महानदीसम्म चल्ने रेल सेवा शुरु गरेको छ जसमा बिहानको समयमा रेड पाण्डा नाम गरेर वाष्पचालित ईञ्जिनको साथमा र अपरान्हमा डिजल ईञ्जिनको साथमा मुक्तधारा नाम गरेर रेल सेवा सञ्चालन शुरु गरेको छ। उक्त स्पेशियल सेवाको सञ्चालनको लागि उदघाटन एनएफ रेलवेको सहायक जेनेरल म्यानेजर रमेश कुमारको बाहुलीबाट खरसाङको रेलवे स्टेशनमा रिबन काटेर उदघाटन गरेका छन्। उनीसितै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, दार्जिलिङ हिमालयन रेलवेको एडीईएन रञ्जित टुडु पनि उपस्थित रहेका थिए। खरसाङ रेलवे स्टेशनबाट मुक्ताधारा नाम गरेको रेल दिउँसो ३.१५ मा महानदीको लागि प्रस्थान भएको छ भने साँझ ५ बजीको समयमा खरसाङ नै फर्केको छ। उक्त मुक्तधारा रेल खरसाङ क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू हुँदै महानदी पुगेर ४ बजीको समयमा महानदी पुगेर फर्केर पुन: खरसाङ रेलवे स्टेशन ५ बजीको समयमा पुगेको छ।

यसको साथै दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित ईञ्जिनको साथमा बिहान रेड पाण्डा नाम लिएर खरसाङदेखि महानदीसम्म चल्न शुरु गरिएको छ। यो दुईवटा रेल सेवा दार्जिलिङदेखि घुमसम्म चल्ने रेल जस्तै दैनिक रुपमा चल्ने भएको छ। उक्त रेल सेवा अन्तर्गत खरसाङदेखि महानदीसम्म पुगेर आउनु वाष्पचालित ईञ्जिनको साथमा रेड पाण्डामा एकजनाको १५ सय रुपियाँ र डिजल ईञ्जिनको साथमा मुक्तधारा रेलमा एकजनाको एक हजार रुपियाँ लाग्ने जानकारी प्राप्त भएको छ। उक्त रेलवे सेवा सञ्चालनको मुख्य उद्देश्य पर्यटकहरुलाई खरसाङ क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरू देखाउनु र प्राकृतिक सुन्दरतालाई अघि बढाउनु साथै स्थानीयहरुलाई रोजगार दिनु रहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एनएफ रेलवेको सहायक जेनेरल म्यानेजर रमेश कुमार र दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले विस्तृत रुपमा जानकारी गराएका छन्।





