प्रधानमन्त्री मोदीद्वारा आईआईटी मद्रासस्थित मन्दिरमा पूजाआजा, मस्तिष्क अनुसन्धान केन्द्रको पनि अवलोकन

d65d0cca-d54b-40f1-88e9-8858f4e5a2e8

चेन्नई: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार चेन्नईस्थित भारतीय प्रौद्योगिकी संस्थान–मद्रास परिसरमा रहेको मन्दिरमा पूजाआजा गरेका छन्। उनले तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर र मुख्यमन्त्री सी. जोसेफ विजयसँगै श्री जलकण्ठेश्वर स्वामी मन्दिरमा दर्शन तथा पूजाआजा गरेका हुन्।
प्रधानमन्त्री मोदीलाई परम्परागत वाद्यसङ्गीतका साथ स्वागत गरिएको थियो। त्यसपछि पुजारीहरूले उनलाई भगवान् श्रीकृष्ण र श्रीरामलाई समर्पित मन्दिरमा रहेको श्रीचक्रको महत्त्वबारे जानकारी गराएका थिए। मोदीले श्रीचक्रमा पुष्प अर्पण गर्दै पूजाआजा गरे।
भारतीय प्रौद्योगिकी संस्थान–मद्रास परिसरमा अवस्थित भगवान् शिवको उक्त मन्दिर शताब्दीयौँ पुरानो मानिन्छ। केही दशकअघि प्रतिष्ठित शैक्षिक संस्थानको स्थापना भएपछि मन्दिरको जीर्णोद्धार गरिएको थियो।

प्रधानमन्त्री मोदीद्वारा ‘सुधा गोपालकृष्णन मस्तिष्क केन्द्र’को अवलोकन

मन्दिरमा दर्शन तथा पूजाआजा गरेपछि प्रधानमन्त्री मोदीले भारतीय प्रौद्योगिकी संस्थान–मद्रास परिसरमै रहेको ‘सुधा गोपालकृष्णन मस्तिष्क केन्द्र’को अवलोकन गरेका छन्। उनले त्यहाँका विशेषज्ञहरूसँग केन्द्रको कार्यप्रणाली तथा भइरहेका अनुसन्धानका विषयमा जानकारी लिएका थिए।
यसअघि प्रधानमन्त्रीले चेन्नई मेट्रो रेलको दोस्रो चरणअन्तर्गत करिब चार हजार नौ सय करोड भारतीय रुपैयाँको लागतमा निर्माण गरिएको ‘येलो लाइन’ अर्थात् पहेँलो मार्गको उद्घाटन गरेका थिए। त्यसपछि उनी मन्दिरमा पूजाआजा गर्न पुगेका थिए भने सोही क्रममा मस्तिष्क अनुसन्धान केन्द्रको पनि अवलोकन गरेका हुन्।

सन् २०२२ मा स्थापना भएको मस्तिष्क अनुसन्धान केन्द्र

संस्थानका अनुसार, भारतीय प्रौद्योगिकी संस्थान–मद्रासले सन् २०२२ मा स्थापना गरेको ‘सुधा गोपालकृष्णन मस्तिष्क केन्द्र’को मुख्य उद्देश्य मानव मस्तिष्कका कोषहरू र तिनबीच हुने सम्पर्कहरूको सूक्ष्म अध्ययन गर्दै मस्तिष्कको विस्तृत नक्साङ्कन गर्ने महत्त्वाकाङ्क्षी विश्वव्यापी परियोजनालाई गति दिनु हो।
यो अत्याधुनिक केन्द्र मानव मस्तिष्कसम्बन्धी अनुसन्धानको विश्वप्रसिद्ध केन्द्रका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ। यसले मानव मस्तिष्कसँग सम्बन्धित नवीनतम तथ्याङ्क, वैज्ञानिक निष्कर्ष तथा अत्याधुनिक प्राविधिक उपकरणहरू विकास गर्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री मोदीको यस भ्रमणका क्रममा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर र मुख्यमन्त्री सी. जोसेफ विजय पनि उपस्थित थिए।

About Author

Advertisement