खरसाङ: दार्जिलिङ सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशनद्वारा बेघर भएर सडकमा हिँड्ने मानसिक रोगीहरुको उपचारको लागि खरसाङ महकुमा अस्पतालमा सुरक्षित मानसिक रोगी उपचार कोठा बनाउने माग उठाएका छन् उक्त मागमा दार्जिलिङ सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशनद्वारा खरसाङ महकुमा अस्पतालका सुपरिटेण्डेण्ट डा कुणाल चक्रवर्तीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा सुरक्षित मानसिक रोगीहरुको उपचारको लागि खरसाङ महकुमा अस्पतालभित्र सुरक्षा गार्डसहित फलामे लक गेट भएको अलग्गै पाँचवटा बेड भएको मेल वार्ड र पाँचवटा बेड भएको फिमेल वार्ड बनाउने माग गरेका छन्। उक्त ज्ञापन पत्र बुझाउने टोलीमा दार्जिलिङ सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशनकी मुख्य संयोजक सुमित्र राई, रमेश राई, बिक्रम गुरुङ आदि रहेका थिए। उक्त टोलीले खरसाङ महकुमा अस्पतालका सुपरिटेण्डेण्ट डा कुणाल चक्रवर्ती र उनका सहयोगी विप्लव हल्दारसित भेट गरी ज्ञापन पत्र बुझाउनुको साथै यस विषयमा चर्चा परिचर्चा पनि गरेका छन्। यस विषयमा खरसाङ महकुमा अस्पतालका सुपरिटेण्डेण्ट डा कुणाल चक्रवर्तीले सहयोगको आश्वासन दिएको सुमित्र राईले बताएकी छन्। उनले बताए अनुसार यस विषयमा यस अघि खरसाङ महकुमा शासक पेमा शेर्पालाई पनि भेटेर ज्ञापन पत्र बुझाई सकेको र महकुमा शासकले खरसाङको खहरेस्थित सेल्टर होमको पनि निरीक्षण गरेका थिए। उनले जानकारी गराए अनुसार सडकमा बेघर भएर हिँड्ने मानसिक रोगीहरुको उपचारको लागि खरसाङ महकुमा अस्पतालमा अलग्गै सुरक्षित फलामे लक र गेट भएको कोठा बनाउने मागमा भविष्यमा विधायक र सांसदलाई पनि भेटेर ज्ञापन पत्र बुझाउने भएका छन्।

उनले यस विषयमा भने, ‘यस्ता मानसिक रोगले पिढीतहरु सडकमा धेरै पाउने गरेको र सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेशनद्वारा पनि यस्ता बेघर भएर हिँड्ने मानसिक रोगीहरुको उध्दार गरेर उपचारको लागि धेरैलाई लाने गरेको तर बिमारीहरु भाग्ने गरेकोले सुरक्षित उपचारको लागि कोठा बनाउनु आवश्यक रहेको छ।’
यस कुराको लागि सुमित्रा राई र टोलीले विगत २०१६-१७ देखि नै माग गर्दै आएको र यस विषयमा जिल्ला शासकलाई पनि भेटेर ज्ञापन पत्र बुझाउनुको साथै हस्ताक्षर अभियान पनि आयोजना गरिसकेको पनि बताएकी छन्। उनले यस्ता मानसिक रोगीहरु खरसाङ क्षेत्रका सडकहरुमा पनि धेरै रहेको र यी रोगीहरुको उपचारको लागि खरसाङ महकुमा अस्पतालमा सुरक्षित कोठा बनाउनु आवश्यक रहेको बताएकी छन्।





