खरसाङ: खरसाङ चिमनी देवराली समष्टीको अप्पर चैते पानीमा जल जीवन मिशनको हर घर पानी पुग्ने कार्य शुरु गरिएको छ। उक्त कार्य २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाको पहलमा गाउँमा स्याइएको र यस योजनाले अप्पर चैते पानीको ७० घरहरूमा पानी पुग्ने भएको छ। उक्त विषयमा भागोप्रमो २८ नम्बर समष्टीद्वारा सभा गरेर स्थानीय गाउँवासीलाई जनाइएको छ। उक्त पानीको काम अप्पर चैतेपानीमा सभासद श्याम शेर्पाको पहल र मार्ग निर्देशनमा शुरु भएको बताइएको छ। उक्त विषयमा गरिएको सभामा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङले विस्तृत रूपमा गाउँवासीलाई सम्झाएका छन्। सभालाई पञ्चायत सदस्य दिपेस थापाले सञ्चालन गरेका थिए। सभामा दुवैले पानीको काम विषयमा जनतालाई बुझाएका थिए। सभामा २८ नम्बर समष्टीको नारी शक्तिको सभापति सुष्मा मुखिया, चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ, उप प्रधान अनुपा सुब्बा, मेघमाला ग्राम सुधार समिति समाजको सभापति शिवकुमार राई, सचिव एनके खवास, बीबी राई, बिराज राई, विष्णु छेत्री, अनुप तामाङ आदि उपस्थित थिए। यस समष्टीको छोडिएको अन्य क्षेत्रमा पनि सबैतिर पानीको काम गरिने भएको जानकारी प्राप्त भएको छ। क्षेत्रीय सभासदको पहलमा शुरु भएको य पानीको काम अब गाउँ समाजको देखरेखमा तथा १० जनाको बेनीफेसरी कमिटी बनाएर हेरिने भएको पनि सभामा चर्चा गरिएको जानकारी दिपेस थापाले दिएका छन्।








