खरसाङ: उत्तर बंगालको सामाजिक राजनीतिक इतिहास, संस्कृति, जातीयता तथा पहिचानका विविध आयाममाथि गहन विमर्श गर्ने उद्देश्यले खरसाङ कलेजको राजनीतिशास्त्र विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। भारतीय ऐतिहासिक अनुसन्धान परिषदको प्रायोजनमा सम्पन्न उक्त सेमिनारको मूल विषय “Understanding the Socio-Political History of North Bengal: Rethinking Culture, Ethnicity and Identity” रहेको थियो। कार्यक्रमको उद्घाटन सत्र पश्चिम बंगाल राज्य विश्वविद्यालय, बारासातका माननीय कुलपति प्रा. देवब्रत मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सेमिनारका बीज भाषाण कोलकाता चारुचन्द्र कलेजका सहायक प्राध्यापक डा. विमल शंकर नन्दले दिएका थिए। प्राध्यापक डा. विमल शंकर नन्द शैक्षिक प्राज्ञ साथै प्रशिद्ध राजनैतिक विशेषज्ञ पनि हुन् । उदघाटन सत्रले उत्तर बंगालको ऐतिहासिक विकासक्रम, सामाजिक संरचना, सांस्कृतिक विविधता तथा पहिचानसम्बन्धी प्रश्नहरूलाई प्राज्ञिक दृष्टिकोणबाट पुनर्विचार गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको बताइएको छ।
दुई दिनसम्म सञ्चालन भएका विभिन्न शैक्षिक सत्रहरूमा देशका विभिन्न विश्वविद्यालय तथा महाविद्यालयबाट सहभागी विशिष्ट प्राज्ञिक व्यक्तित्वहरूले आ आफ्ना अनुसन्धानमूलक विचार, विश्लेषण र अनुभव प्रस्तुत गरेका थिए। प्रमुख वक्ताहरूमा बाँकुडा विश्वविद्यालयका कुलपति प्रा. (डा.) रूपकुमार बर्मन, कोलकाताको चारुचन्द्र कलेजका डा. विमल शंकर नन्द, बर्दवान विश्वविद्यालयका प्रा. अनिलकुमार विश्वास तथा कुमार भास्कर वर्मा संस्कृत तथा प्राचीन अध्ययन विश्वविद्यालय, आसामका प्रा. ज्योतिराज पाठक सहभागी रहेका थिए। यसै गरी उत्तर बंगाल विश्वविद्यालयका प्रा. रञ्जिता चक्रवर्ती र डा. दहिया भट्टाचार्य, मुन्सी प्रेमचन्द महाविद्यालयका प्राचार्य डा. विपुल मण्डल, दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका डा. पदम नेपाल, रायगञ्ज कलेजका डा. सुदीप खसनोबिश तथा रायगञ्ज विश्वविद्यालयका डा. जयजीत सरकारलगायतका प्राज्ञिक व्यक्तित्वहरूले पनि विभिन्न सत्रमा विचार प्रस्तुत गरेका थिए। सेमिनारका क्रममा प्रस्तुत विचार तथा अनुसन्धानमूलक छलफलले उत्तर बंगालको सामाजिक राजनीतिक इतिहासलाई समकालीन सन्दर्भमा बुझ्न, सांस्कृतिक विविधता र जातीय पहिचानका जटिल पक्षहरूको विश्लेषण गर्न तथा क्षेत्रीय इतिहाससम्बन्धी स्थापित दृष्टिकोणहरूको पुनर्मूल्याङ्कन गर्न सहयोग पुर्याएको थियो। विभिन्न विश्वविद्यालय तथा महाविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई अन्तरक्रियात्मक र विचारोत्तेजक बनाएको थियो।
कार्यक्रमका विभिन्न सत्रमा सहभागीहरूले आलोचनात्मक विमर्श, अनुसन्धानमा आधारित विश्लेषण तथा बहुआयामिक दृष्टिकोणको आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए। यसले प्राज्ञिक संवादलाई सुदृढ बनाउनुका साथै सामाजिक इतिहास, संस्कृति, जातीयता र पहिचानसम्बन्धी विषयमा थप अनुसन्धानका सम्भावनाहरू उजागर गरेको थियो। सेमिनार उच्च प्राज्ञिक उत्साहका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा भएका गहन छलफल तथा विचार आदानप्रदानले सहभागीहरूलाई महत्त्वपूर्ण बौद्धिक उपलब्धि प्रदान गर्नुका साथै खरसाङ कलेजमा आगामी दिनमा सञ्चालन हुने शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिहरूका लागि सकारात्मक आधार निर्माण गरेको छ। समग्रमा उक्त राष्ट्रिय सेमिनार उत्तर बंगालको सामाजिक राजनीतिक इतिहास, सांस्कृतिक बहुलता, जातीयता तथा पहिचानसम्बन्धी विषयमा प्राज्ञिक विमर्शलाई विस्तार गर्ने र विभिन्न शैक्षिक संस्थाबीच अनुसन्धानमूलक सहकार्य प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण पहलका रूपमा रहेको छ। सेमिनार यसै कलेजका प्राचार्य डा. समीर बलको संरक्षकत्वमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन राजनीतिशास्त्र विभागकी उप प्राध्यापक तथा संयोजक डा. कर्मा ल्हामूले गर्नुभएको थियो। उनलाई इतिहास विभागको उप प्राध्यापक तथा सहसंयोजक डा. चञ्चल अधिकारीले सहयोग गरेका थिए। डा. चञ्चल अधिकारीको सहयोगमा सो सेमिनार सफलतापूर्वक सम्पन्न हुन सकेको बताउँदै संयोजिकाको तर्फबाट विशेष आभार प्रकट गरेकी छन् । यसको साथै सेमिनारमा उपस्थित महाविद्यालयका प्राध्यापकगण र विद्यार्थी वर्गको सहयोगका धन्यवाद पनि जनाएकी छन् ।





