खरसाङ (१३ सेप्टेम्बर (हनोक): विगत दुई वर्षदेखि खरसाङमा पर्यटन क्षेत्रमा कार्य गर्दै आएको खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको वार्षिक साधारण सभा खरसाङको डाउहिलस्थित सिनौलो परिवार समिति भवनमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभालाई खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका सभापति किशोर सिंहको अध्यक्षतामा र सचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। यस वार्षिक साधारण सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनले विगत दुई वर्षमा खरसाङ क्षेत्रमा गरिरहेको विभिन्न कार्यक्रमहरु र कार्यहरु विषयमा विस्तृत छलफल गरिएको छ।

उक्त सभामा संगठनको कोषाध्यक्ष अमीत थापाले आय व्ययको हर हिसाबको विवरण प्रस्तुत गर्दै २०२६ को ३१ मार्चसम्मको विवरण प्रस्तुत गरेका छन्। सभालाई सभाध्यक्ष किशोर सिंहले सम्बोधन गर्दै धन्यवाद ज्ञापन पनि गरेका थिए। यसै सभामा संगठनको तर्फबाट तीनजनालाई सम्मान जनाइएको छ। यस अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा एंव वरिष्ठ साहित्यकार आशा मुखिया लामा, पर्यटन क्षेत्रमा कार्य गर्दै आएका निलिमा तामाङ र विशाल गुरुङलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा आशा मुखिया लामाले पर्यटनलाई कसरी अघिलान सकिन्छ भन्ने विषयमा, निलिमा तामाङले पर्यटन व्यवसाय विषयमा र विशाल गुरुङले संगठनको संरक्षकको रुपमा कानुनी सल्लाहहरु राख्दै वक्तव्य राखेका थिए। यसै सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। सभामा सभापतिको रुपमा किशोर सिंहलाई गुप्त मतदानद्वारा निर्वाचित गरिएको छ भने सचिवको रुपमा राजु गुरुङलाई सर्वसहमतिद्वारा चयन गरिएको छ। त्यसरी नै कोषाध्यक्षको रुपमा अमित थापालाई नै चयन गरिएको छ भने कार्यकारी समितिमा ७ बढाएर २१ जनाको कार्यकारी समिति चयन गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका सचिव राजु गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।





