खरसाङ अन्तर्गत टेकबीर बस्तीको समाज प्रगति संघको १०औं स्थापना दिवस सम्पन्न

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर २ अन्तर्गत टेकबीर बस्तीको समाज प्रगति गाउँ प्रगति संघले समाजको १०औं स्थापना दिवस पालन गरेको छ। यस स्थापना दिवस कार्यक्रमको अध्यक्षता समाजको सभापति भेलारियन जर्ज लेप्चाले गरेका थिए भने मुख्य अतिथिको रूपमा खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पा उपस्थित थिए। कार्यक्रमलाई दुई भागमा सञ्चालन गरिएको थियो। पहिलो भागमा समाजको स्थापना दिवस विषयमा सामाजिक विशेषता अनि सम्वर्ध्दनाको कार्यक्रम रहेको थियो भने दोस्रो भागमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सभालाई अनु थापा गुरुङ, मन्जु राई अनि निटु लामाले सञ्चालन गरेका थिए। पहिलो चरणमा समाजको संस्थापक अध्यक्ष सुजय गुरुङ, संस्थापक सचिव सपन सुब्बा, भूतपूर्व अध्यक्ष सुरजक प्रधान,सह कोषाध्यक्ष निमा लमु शेर्पा अनि रेणुका गुरुङलाई सम्मान पत्र जन ब्रिटो सुब्बा, भेलारियन जर्ज लेप्चा अनि प्रमुख अतिथि २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट प्रदान गरी सम्मान जनाइएको छ। यसको साथै कोभिड १९ – कोरोना महामारीको समयमा टेकवीर बस्ती क्षेत्रमा स्वास्थ्य सम्बन्धी सेवा पुर्याएकोमा वार्ड नम्बर २ डाउहिल निवासी स्वास्थ्यकर्मी कविता मंग्राती लामालाई पनि मुख्य अतिथि जीटीए कार्यकारिणी सभासद अनोश कुमार थापाको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो। समाज भित्रका ६ जना भूतपूर्व शिक्षक शिक्षिकाहरूलाई समाजको पक्षबाट अंग वस्र पहिराएर सम्मान जनाइयो। कार्यकारिणी सभासद अनोश कुमार थापा र सभासद श्याम शेर्पालाई पनि जातिय टोपी र अंग वस्र पहिराएर सम्मान जनाइएको छ। यस कार्यक्रममा सुनौलो परिवार डाउहिलको सभापति कपिल छेत्री, मूल सचिव राजेश छेत्री, ग्राम कल्याण समाज डुमारामको सभापति एमपी राई अनि सचिव कल्पना छेत्री अनि उनीहरूका समाजको सदस्यहरु पनि उपस्थित थिए। अतिथिहरु अनोश कुमार थापा अनि श्याम शेर्पाको विशेष उपस्थितिमा समाजको मूल सचिव बिरबल पाखरीनले समाजको स्थापना दिवस विषयमा वक्तव्य राखेका थिए। लगभग ४०० देखि ४३० सम्म जनसंख्या भ‌एको गाउँमा अहिलेसम्म सार्वजनिक भवन नभ‌एको दु:खेसो अनि गुनासो स्थानीयहरूले सभासदहरू समक्ष राखेका थिए। सभासदहरूले पनि समाजको पक्षको निवेदनलाई सुनेर सार्वजनिक भवनको निम्ति चाढ़ै पहल गरिदिने साथै समाजको आउदो ११औं स्थापना दिवस नयाँ सार्वजनिक भवनमा पालन गर्न सकिने वचन दिए। कार्यक्रममा गाउँका स्थानीय कलाकारहरूले उत्कृष्ट नृत्य अनि गीतहरू प्रस्तुत गरेका थिए।

About Author

Advertisement