खरसाङमा संयुक्त रुपमा शहीद दिवस समारोह आयोजना गर्दै शहीदका‌ परिवारहरुलाई सम्मान

IMG-20260727-WA0080

शहीदलाई लिएर हामी राजनीति गर्दैनौं तर शहीदहरुको बलिदान हाम्रो मनमा छ: विधायक सोनाम लामा

खरसाङ: खरसाङको नयाँ बजारस्थित इगल क्र्यागमा रहेको शहीद वेदीमा शहीद दिवस समारोह सम्पन्न गरिएको छ‌।‌ उक्त शहीद दिवस समारोह आयोजक समितिको आयोजनामा सम्पन्न भएको छ। उक्त शहीद दिवस आयोजक समिति भारतीय जनता पार्टी र यसको गठबन्धन दलहरुद्वारा संयुक्त रुपमा गठन गरेर आयोजना गरिएको छ। उक्त शहीद दिवस समारोहको अध्यक्षता खरसाङका विधायक एंव शहीद दिवस समारोह आयोजक समितिको सभापति सोनाम लामाको अध्यक्षतामा सम्पन्न भएको छ। समारोहलाई प्रकाश प्रधानले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण शहीद दिवस समारोह आयोजक समितिको सचिव सञ्जय छेत्रीले राखेका थिए। प्रथममा शहीद दिवस समारोह आयोजक समितिको सभापति एवं विधायक सोनाम लामाले शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका थिए भने त्यसपछि उपस्थित अन्य पदाधिकारीहरुले पनि श्रध्दाञ्जली अर्पण गरेका थिए।‌ विभिन्न धर्मका धर्म गुरुहरुले प्रार्थना गरेर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरुले पनि प्रस्तुति दिएका थिए। यस क्रममा खरसाङ महाविद्यालय र सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरुले ब्याण्ड प्रस्तुति दिएका थिए। यसै शहीद दिवस समारोहमा खरसाङ महकुमा क्षेत्रका गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका ६६ जना शहीदहरूको परिवारहरुलाई आयोजक‌ समितिको तर्फबाट सम्मान जनाइएको थियो। सबैलाई खरसाङका विधायक सोनाम लामा र अन्यको बाहुलीबाट सम्मान जनाइएको थियो। यस शहीद दिवस समारोहलाई शहीद दिवस समारोह आयोजक समितिको सह सचिव भुषण देवानले सम्बोधन गर्दै १९८६ को गोर्खाल्याण्ड आन्दोलनको विस्तृत जानकारी गराएका थिए। उनले आफ्नो सम्बोधनमा भने,’आजको दिन शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नु मात्रै होइन तर शहीदहरुको सपना साकार पार्नु पनि हाम्रो कर्तव्य र उत्तरदायित्व हो। हामी सबैजना जाति र माटोको लागि एक हुन आवश्यक छ।’

उनले जेन्जी युवाहरुलाई सम्बोधन गर्दै भने, जेन्जी युवाहरुले पनि जाति र माटोको लागि एकबध्द भएर अघि बढ्नुपर्छ। युवाहरुले राजनैतिक चेतना लिएर काम गर्नुपर्छ।’ उनले भने, हामी हाम्रो लक्ष्यम‌ा पुगे मात्र शहीदहरुको सपना साकार हुन्छ।‌’
कार्यक्रममा सभाध्यक्षको रुपमा उपस्थित खरसाङका‌ विधायक एंव शहीद दिवस समारोह आयोजक समितिको सभापति सोनाम लामाले शहीदलाई लिएर हामी राजनीति गर्दैनौं भन्दै शहीदहरुको बलिदान हाम्रो मनमा छ भनी बताएका छन्। उनले शहीद वेदीलाई जीर्णोध्दार गरेर ठूलो बनाउने घोषणा गर्दै राजनीतिदेखि माथि उठेर काम गर्ने बताएका छन्। विधायक लामाले आफ्नो सम्बोधनमा भने, ‘केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ र गोर्खाहरुको सपना साकार हुने समय आएको छ। तर दुई दुई महिनामा केही हुँदैन। यत्रो ४० वर्ष त केही भएन, हामी आएको केवल २ महिना जति भयो र विस्तारै सबै कामहरु पूरा हुँदै जानेछन्।’
उनले अघि भने, हामी सबैजना एकबध्द भएर अघि बढ्नुपर्छ। जातिको लागि काम गर्नुपर्छ। राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ।’

यस शहीद दिवस समारोहमा आयोजक समितिको उपाध्यक्षहरु आरबी लामा, योगेन्द्र राई, निमा लामा, सह सचिव चन्दन प्रसाद, डा. कमल भुजेल, कोषाध्यक्ष विनय प्रसाद लगायत रमेश अग्रवाल, रामकृष्ण शर्मा, दिक्षा तामाङ साथै अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन शहीद दिवस समारोह आयोजक समितिको कोषाध्यक्ष बिनय प्रसादले राखेका थिए।

About Author

Advertisement