खरसाङमा मालश्री गायन प्रतियोगिता र झाँकी प्रतियोगिताको साथमा सांस्कृतिक फुलपाती शोभायात्रा साथै सम्मान समारोह सम्पन्न

IMG-20261017-WA0066

खरसाङ: खरसाङमा यसपाली भव्य रुपमा फुलपाती शोभायात्राको साथमा मालश्री गायन प्रतियोगिता र झाँकी प्रतियोगिताको साथमा सम्मान समारोह आयोजना गरिएको छ।‌ फुलपाती शोभायात्रा साथै सम्मान कार्यक्रम आयोजक समितिको आयोजनामा सम्पन्न सांस्कृतिक फुलपाती शोभायात्रा यसपाली खरसाङको रेलवे स्टेशन परिसरमा रिबन काटेर शुरु गरिएको थियो। शोभायात्रा शुरु हुन अघि नै डोलीहरुलाई दर्शन गर्ने र शोभायात्रासितै खरसाङ बजार परिक्रमा गरिएको छ।

उक्त सांस्कृतिक फुलपाती शोभायात्रा रेलवे स्टेशन परिसरबाट शुरु भएर अस्पताल मोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै पार्क लोकेशनस्थित सार्वजनिक भवनमा पुगेर सम्मान कार्यक्रमना परिणत भएको छ। शोभायात्रामा विभिन्न संघ संस्थानहरुका झाँकीहरु निकालिएको थियो। यस शोभायात्रा नौमति बाजाको अगुवाईमा साकेला शिली, खैजडी समूह, सन्त अल्फन्सेस विद्यालयका पाइपर प्याण्ड, शंखवादन, खुकुरी प्रदर्शनी, डम्फु टोली साथै मालश्री गायन प्रतियोगिता र झाँकी प्रतियोगिताको पनि आयोजना गरिएको छ।

उक्त मालश्री गायन प्रतियोगितामा निर्णायकको रुपमा वरिष्ठ संगीतकार मोहन प्रधान, गायिकाद्वय रिता गिरी र सुनिता गजमेर रहेका थिए भने झाँकी प्रतियोगितामा वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ र आकाशवाणी खरसाङका पूर्व निर्देशक बलराम राई रहेका थिए। विभिन्न संघ-संस्था एवं जातीयताको आधारमा आफ्नो आफ्नो सांस्कृतिक जनजागरणमूलक झाँकीहरु समावेश रहेको थियो। उक्त सांस्कृतिक फुलपाती शोभायात्रा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको छ। उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति आईएन शर्माले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आशा मुखिया लामा, बिनय प्रसाद, चन्दन प्रसाद, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, आरबी लामा, पूर्व सांसद शान्ता छेत्री, पूर्व विधायक डा रोहित शर्मा लगायत अन्यहरु उपस्थित रहेका थिए। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा आयोजक समितिको सचिव एवं जीटीएका सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन्द छेत्रीले राखेका थिए। कार्यक्रममा फूलपाती शोभायात्रामा सहभागिता जनाउने खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई सम्मान जनाइएको थियो।‌ कार्यक्रममा मालश्री गायन प्रतियोगितामा प्रथम गोर्खा जनपुस्तकालय खरसाङ, दोस्रो ग्राम सुधार समिति पालुवा र तेस्रो वाणीश्री कल्याण समिति भएका छन्। त्यसरी नै झाँकी प्रदर्शनीमा ग्राम सुधार समिति तीन माइल प्रथम, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दोस्रो र माँ कात्यायानी धाम उजेरी बस्ती तेस्रो भएका थिए। यसरी नै सबैभन्दा पुरानो पूजाको रुपमा गोर्खा जनपुस्तकालय खरसाङ, दोस्रो फाटकडाँडा सोसियल वेलफेयर सोसाइटी र तेस्रो ग्राम सेवा समिति डुमाराम बस्ती तेस्रो भएका छन्। यस सम्मान समारोहमा लोक साहित्य र लोक संगीतम दिएको बहुमूल्य योगदानको लागि पूर्णकुमार राई बाबरीलाई संगीत सम्मान, शिक्षा क्षेत्रमा डा रागिनी थापालाई शिक्षा सम्मान, समाज सेवामा वरिष्ठ समाजसेवी टीटी लामा र पशु प्रेमी सुनिल खातीलाई पनि सम्मान गरिएको छ। सबैलाई अतिथिहरुका बाहुलीबाट खदार्पणसहित जातीय, टोपी, दोसल्ला, शल ओढाएर साथै जातीय खुकुरी र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित विधायक सोनाम लामा, कोषाध्यक्ष राजेस गजमेर, दुईजना निर्णायकहरु मोहन प्रधान र सुनिता गजमेर र सभाध्यक्ष आईएन शर्माले वक्तव्य राखेका थिए। यस फूलपाती सांस्कृतिक शोभायात्रा र सम्मान समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिका सचिव गोबिन्द छेत्री र कोषाध्यक्ष राजेस गजमेरले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement