खरसाङ: नेपाली भाषा मान्यता आन्दोलनको सक्रिय र समर्पित योध्दा उत्तमकुमार छेत्रीलाई सम्मान जनाइएको छ। गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सम्पन्न सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोहमा भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई सम्मान जनाइएको छ। यस अवसरमा उनलाई समारोह अध्यक्ष प्रकाश प्रधान, प्रमुख अतिथि खरसाङका विधायक सोनाम लामा, विशिष्ट अतिथि एंव वरिष्ठ साहित्यकारद्वय डा जीवन नामदुङ र पूर्ण गुरुङ ‘निरुपम’ आदिको बाहुलीबाट खदार्पणसहित शिर शोभा र शल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई प्रदान गरिएको सम्मान पत्र गोर्खा जनपुस्तकालय खरसाङकी महासचिव गोमा सुब्बाले पठन गरेकी थिइन्। यस सम्मान् कार्यक्रमलाई पुस्तकालयका उपाध्यक्ष एवं कवि विनोद रसाइलीले सञ्चालन गरेका थिए। उल्लेखनीय छ भाषा संग्रामी उत्तमकुमार छेत्रीले नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको नेपाली भाषा मान्यताको आन्दोलनमा महत्वपूर्ण योगदानलाई लिएर युवा साहित्यकार हनोक थापाद्वारा लिखित पुस्तक ‘नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय र समर्पित योध्दा उत्तमकुमार छेत्री’ प्रकाशोन्मूख छन्।





