खरसाङ: खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा. भीमराव अम्बेडकरको १३६औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा सभाध्यक्षको रुपमा मञ्चको उपाध्यक्ष तारकेश्वर रावत उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा जीटीएको सल्लाहकार अमर लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट डा अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रमलाई मञ्चको सचिव सञ्जय राउतले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण मञ्चको सह सचिव मनिष सेवाले राखेका थिए। यसै कार्यक्रममा अतिथिहरुका बाहुलीबाट केक पनि काटिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापा र दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेललाई पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा शल ओढाएर सम्मान पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यसको साथै डा. भीमराव अम्बेडकर फेलोशिप प्रापक मञ्चको सभापति रवि तोलङ्गी र प्रकाश सेवालाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा डा. भीमराव अम्बेडकरको जीवनी र योगदान विषयमा सिलगढीबाट आएका बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गरेका थिए। उनले बाबासाहेब डा. भीमराव अम्बेडकर हामीलाई मार्गदर्शन गर्ने, हाम्रो अधिकार दिलाउने व्यक्ति रहेको बताउँदै हामी पछौटेवर्गको लागि पनि संविधानमा अधिकार लेखिदिने व्यक्ति रहेको बताएका छन्। उनले अनुसूचित जाति भनेको सानो जात होइन तर हामी यही देशको भूमिपुत्र हो भनी भन्न खोजिएको बताए। कार्यक्रममा बीबी बिश्वकर्मालाई पनि मञ्चको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित जीटीएका सल्लाहाकार अमर लामाले सम्बोधन गर्दै भने, संविधान निर्माता बाबासाहेब डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा उपस्थित हुन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु। डा. अम्बेडकर संविधानका पिता थिए। उनकै चेयरम्यानशीपमा संविधान लेखिएको थियो। उनी जातीय भेदभावको विरुद्धमा थिए। उनले उत्पीडन सहेर पनि कानुनविद् बनेका थिए। उनी स्वतन्त्र भारतको पहिलो शिक्षामन्त्री रहेका थिए। युवाहरुले डा. भीमराव अम्बेडकरको जीवनी अवश्य पढ्नुपर्छ। कार्यक्रममा गीत, नृत्य प्रस्तुत गरिएको थियो। बाबासाहेब डा भीमराव अम्बेडकरको १३६औं जन्म जयन्ती कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको सचिव सञ्जय राउतले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।









