खरसाङमा एउटा रुख आमाको नाममा विषयकि साथमा विश्व पर्यावरण दिवस कार्यक्रम सम्पन्न

IMG-20260605-WA0091

पर्यावरण स्वच्छताको साथमा हाम्रो मन पनि स्वच्छ हुनुपर्छ: विधायक सोनाम लामा

खरसाङ: खरसाङ नगरपालिका र वन विभागको आयोजना तथा दार्जिलिङ हिमालयन रेलवे र गैर सरकारी संस्था खरसाङ हेल्पको तत्वावधानमा खरसाङमा विश्व पर्यावरण दिवस पालन गर्दै वृक्ष रोपणको साथमा खरसाङ बजार क्षेत्रमा सर सफाई पनि गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। कार्यक्रम विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, खरसाङ महकुमा पुलिस‌ अधिकारी आईपीएस निरझा अनिस शाह, विद्युत विभाग महकुमा अधिकारी सन्दीप तामाङ, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पर्यावरण दिवस कार्यक्रम खरसाङको रेलवे स्टेशन परिसरमा सम्पन्न भएको छ। यस कार्यक्रममा स्वागत सम्भाषण साथै पर्यावरण दिवस विषयमा खरसाङ महकुमा अधिकारी आईएएस प्रिया यादवले राखेकी थिइन्। कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले भने, ‘विश्व पर्यावरण दिवसको अवसरमा हामी प्रण गरौं कि अबदेखि खरसाङमा हामी सिंगल युज पोलिथिन ब्याग प्रयोग नगरौं। यो आजदेखि होइन तर विस्तारै यसलाई शुरु गर्दै जानुपर्छ। खरसाङको‌ लागि अब हामीले नयाँ शुरुवात गर्नुपर्छ।’
उनले यसपालीको थिम आमाको नाममा एउटा रुख विषयमा बोल्दै सबैले आफुलाई जन्म दिने आमाको नाममा एउटा रुख रोपौं किनभने आमाले नै हामीलाई जन्म दिएको बताएका छन्। खरसाङका विधायक सोनाम लामाले सरकारले मात्र गर्नु सक्दैन तर जनताले पनि साथ र सहयोग गरे सबै सम्भव हुन्छ अनि प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री शुभेन्दु अधिकारीको सपना पनि साकार हुन्छ भनी बताएका छन्। लामाले आफुले 20 -22 वर्ष अघि यही ठाउँबाट खरसाङको लागि केही गर्नु भनेर खरसाङ हेल्प नामक एनजीओ गठन गरेको र आज आएर आफु खरसाङको विधायकको रुपमा उपस्थित हुन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पर्यावरण दिवस अन्तर्गत हरियाली बनाउनु साथै हाम्रो परिवेश स्वच्छ राख्नु महत्वपूर्ण हुन्छ तर हाम्रो सोच पनि स्वच्छ हुन आवश्यक छ।’

कार्यक्रममा क्रमैले डीएफओ देवेस पाण्डे, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले पनि सम्बोधन गरेका थिए। कार्यक्रमलाई रेबिना सुब्बा‌ले सञ्चालन गरेका थिए। कार्यक्रममा ग्लोरियस इस्टिट्युटको तर्फबाट निर्देशक गगन लामाले उपस्थित सबै अतिथिहरुलाई सम्मान जनाएका थिए। खरसाङको रेलवे स्टेशनमा विश्व पर्यावरण दिवसको कार्यक्रम सकेर खरसाङ रेलवे स्टेशन नजिक क्षेत्र र नयाँ बजारस्थित सार्वजनिक भवन नजिक क्षेत्रमा वृक्ष रोपण गरिएको थियो। यस अवसरमा मुख्य अतिथि विधायक सोनाम लामा लगायत सबै अतिथिहरुको हातबाट वृक्ष रोपण को कार्य सम्पन्न गरिएको छ। यसको साथै कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुले खरसाङ बजार क्षेत्रमा सर सफाई गरिएको छ।

About Author

Advertisement