खरसाङको करबीर चियाबारीमा अवस्थित श्री सातकन्या देवी मन्दिरमा तीन दिवसीय पूजा शुरू

IMG-20260430-WA0090

खरसाङ: खरसाङको करबीर चियाबारीमा अवस्थित श्री सातकन्या देवी मन्दिरमा आजदेखि तीन दिवसीय पूजा अनुष्ठान शुरू भएको छ। अनुष्ठानको प्रथम दिन घटस्थापना तथा भगवान गणेश तथा माताको पूजा अर्चना आदि गरियो। पूजा अनुष्ठानबारे जानकारी गराउँदै पण्डित केशव मिश्रले यो तीन दिवसीय पूजा अनुष्ठान अन्तर्गत आज प्रथम दिन घटस्थापना तथा मण्डप पूजा अनि विभिन्न देवी देवताको पूजा अर्चना गरिने जनाए। उनले भोलि अर्थात् शुक्रवार पनि चण्डी पाठ, रूद्री पाठ सहित माताको पूजा आराधना तथा भजनादिको कार्यक्रम रहेको औ अन्तिम दिन शनिवार माताको पूजा अर्चनासँगै कन्या पूजा, होमादि गरिने जनाए। यो मास अनि समय दैवी शक्तिद्वारा सञ्चालित भइरहेको औ शनिवार बुद्ध पूर्णिमासँगै चण्डी पूर्णिमा तथा बैशाखी पूर्णिमा समेत रहेकाले यस दिन अन्य दिन र बारहरू भन्दा विशिष्ट अनि महत्वपूर्ण रहेकोले यसै समय र दिनलाई पारेर यसरी देवीको पूजा अनुष्ठान गर्नाले लाभ प्राप्त हुने बताए। यता मन्दिर सञ्चालन कमिटीको पक्षबाट कोषाध्यक्ष बिमल राईले पुस्तौँदेखि मान्दै अनि पूजा अर्चना गर्दै आएको यस मन्दिरमा विगत प्रायः स्त वर्षदेखि यता भव्य मन्दिरमा यसरी पूजा अनुष्ठान गर्न पाइरहेको जनाए।

यस मन्दिरलाई यतिको भव्य अनि सुन्दर बनाउन स्थानीय गाउँवासी लगायत वरपरका सबै सहयोगी दाताहरू अनि मुख्य रूपले जीटीए प्रमुख कार्यपाल अनित थापाले धेरै सहयोग प्रदान गरेको जनाउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे। राईले अझ यहाँ मन्दिर निर्माणको कार्य धेरै बाँकी रहेको जनाउँदै यसमा अझ थप सबैले सहयोग प्रदान गरिदिने आग्रह पनि गरेका छन्। तिनले गाउँको शीरमा बनिँदै गरेको भव्य गेटको पनि चाँडै उद्धघाटन हुने जानकारी दिँदै यस तीन दिवसीय पूजा अनुष्ठानमा सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित रहेर माताको आर्शिवाद ग्रहण गर्ने निवेदन पनि गरेका छन्।

About Author

Advertisement