विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ पोस्टर लेखन र स्लोगन लेखन प्रतियोगिता सम्पन्न
खरसाङ: खरसाङ आदर्श विद्यालको इको क्लबको आयोजनामा विद्यालयमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लिएर पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक निमा लेप्चाले गरेका थिए भने दयाराम शर्माले सञ्चालन गरेका थिए। उक्त पर्यावरण सचेतना कार्यक्रममा खरसाङका विभिन्न विद्यालयहरु क्रमशः रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, स्कटमिशन उच्चत्तर माध्यमिक विद्यालय, पुष्पारानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालय र आदर्श विद्यालको विद्यार्थीहरुले विभिन्न प्रतियोगितामूलक कार्यक्रममा भाग लिएका थिए। यस अवसरमा विद्यार्थीहरुलाई पर्यावरणसित सम्बन्धित पोष्टर लेखन र स्लोगन लेखनमा प्रतियोगिता आयोजना गरिएको थियो।

यस प्रतियोगिता अन्तर्गत स्लोगन लेखनमा प्रथम रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी गुनगुन रिजाल, दोस्रो पनि रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी मनमाया थापा र तेस्रो आदर्श विद्यालको स्वराज राई भएका छन्। त्यसरी नै पोष्टर लेखनमा प्रथम स्कटमिशन उच्चत्तर माध्यमिक विद्यालयकी श्रिया राई, दोस्रो पनि स्कटमिशन गुढिया खातुन र तेस्रो रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी दुर्गा सोनार भएका छन्।









