प्रतिबन्धलाई सर्वोच्चको सदर
ओटावा: क्यानडाको सर्वोच्च अदालतले क्युबेक प्रान्तका सरकारी कर्मचारीलाई कार्यस्थलमा हिजाब, पगडी, क्रस र यामुल्काजस्ता धार्मिक प्रतीक लगाउन रोक लगाउने कानुन ‘बिल २१’ लाई सदर गरेको छ। शुक्रबार अदालतले उक्त कानुनका अधिकांश प्रावधानलाई वैध ठहर गर्दै नेसनल एसेम्बलीका निर्वाचित सदस्यलाई अनुहार ढाक्न रोक लगाउने व्यवस्था मात्र खारेज गरिदिएको हो।
यो प्रतिबन्ध प्रान्तका सरकारी शिक्षक, प्रहरी अधिकारी, न्यायाधीश र सरकारी वकिलजस्ता पदमा कार्यरत कर्मचारीमा लागू हुनेछ। क्युबेक सरकारले सन् २०१९ मा संविधानको विशेष धारा ‘नटविथस्ट्यान्डिङ क्लज’ प्रयोग गरी धर्मनिरपेक्षता (लाइसिते) कायम राख्न भन्दै यो कानुन पारित गरेको थियो। मुस्लिम, सिख तथा क्याथोलिक शिक्षिका र नागरिक स्वतन्त्रता समूहले मौलिक हक हनन भएको भन्दै दायर गरेको रिटमाथि सात न्यायाधीशको इजलासले बहुमतका आधारमा कानुनलाई वैध ठहर गरेको हो। यद्यपि, तीन न्यायाधीशले भने धार्मिक स्वतन्त्रता र समानताको हक विपरीत भन्दै फैसलामा फरक मत राखेका छन्।





