सिलगढी: केन्द्रीय पञ्चायती राज, मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंह आफ्नो तीन दिने आधिकारिक भ्रमणका क्रममा आइतबार बागडोगरा विमानस्थल आइपुगेका छन्।
मन्त्री सिंहलाई विमानस्थलमा थप सचिव तथा प्रोटोकल अधिकृत शर्मिष्ठा प्रधान र उपसचिव टेम्पो ताशी भोटियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वागत गरेको थियो। उक्त टोलीमा प्रोटोकल शाखाका अधिकारीहरू, मुख्य सम्पर्क अधिकृत गोपाल पाठक, पशुपालन तथा पशु चिकित्सा सेवाका अतिरिक्त निर्देशक डा. पेम छिरिङ भोटिया र नितेश गुरुङ, मत्स्य विभागका उपनिर्देशक हेमन्त कुमार, भारत सरकार मत्स्य विभागका वरिष्ठ कार्यकारी डा. एएल राई, पशुपालन विभागका निर्देशक डा. प्रतीक शर्मा तथा संयुक्त निर्देशक एवं एसएलडीबीका सीईओ सहभागी थिए।
आजदेखि ३ नवंबरसम्म हुने तीन दिने भ्रमणका क्रममा केन्द्रीय मन्त्री सिंहले विभागीय गतिविधिहरूको समीक्षा गर्नुका साथै स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। आफ्नो भ्रमण तालिका अनुसार उनले सोमबार मङ्गन जिल्लाको भ्रमण गर्नेछन्। सो क्रममा उनले विद्यालय, स्वास्थ्य केन्द्र, ‘सिरी’ गोरु प्रदर्शनी, मत्स्य सहकारी संस्थाको अवलोकन गर्नुका साथै जिल्ला प्रशासनिक केन्द्र मङ्गनमा समीक्षा बैठकको अध्यक्षता गर्नेछन्।
यसैगरी केन्द्रीय मन्त्री सिंहले गान्तोकस्थित सिक्किम सहकारी दुग्ध उत्पादक सङ्घ लिमिटेड (एसएमयूपीपी) मा दुग्ध सहकारी पहलहरूको शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको छ।





