सिक्किमको “मेरो रूख, मेरो सन्तति” योजनाको उच्च प्रशंसा
गान्तोक: भारत सरकारकी सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) तथा श्रम एवं रोजगार राज्यमन्त्री शोभा करन्दलाजे बुधबार बिहान बुलबुलेस्थित स्मृति वनमा आयोजित राष्ट्रव्यापी पर्यावरणीय अभियान “एक पेड माँ के नाम” कार्यक्रममा सहभागी बन्नुभएको छ। उहाँ दुई दिवसीय भ्रमणको सिलसिलामा हिजो सिक्किम आइपुग्नुभएको हो।
राजधानी नजिक बुलबुलेस्थित स्मृति वनमा केन्द्रिय राज्यमन्त्रीलाई राज्य वन तथा पर्यावरण विभागका अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले भव्य स्वागत गरेका थिए। सो अवसरमा उहाँले स्मृति वनमा “एक पेड माँ के नाम” अभियान अन्तर्गत बिरुवा रोप्नुभयो। यस अभियानको मुख्य उद्देश्य आम नागरिकलाई आफ्नी आमाको सम्मानस्वरूप रूख रोप्न प्रेरित गर्नुका साथै पर्यावरण संरक्षण र दिगो विकासलाई प्रवर्द्धन गर्नु हो।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री करन्दलाजेले सिक्किम सरकारको वन तथा पर्यावरण विभागद्वारा सञ्चालन गरिएका र समुदायको सक्रिय सहभागितामा आधारित वृक्षारोपण कार्यक्रमहरूको उच्च प्रशंसा गर्नुभयो। विशेष गरी उहाँले सिक्किम सरकारको नवीन कार्यक्रम “मेरो रूख, मेरो सन्तति” योजनाको सराहना गर्नुभयो, जसअन्तर्गत प्रत्येक नवजात शिशुको नाममा १०८ वटा रूख रोपिनुका साथै उनीहरूको भविष्यका लागि आर्थिक निक्षेप (फिक्स्ड डिपोजिट) को व्यवस्था गरिन्छ।
उहाँले यस योजनालाई एक दूरदर्शी अवधारणाको रूपमा उल्लेख गर्दै बालबालिकाको वृद्धि र रूखको वृद्धिलाई सुन्दर ढंगले जोड्ने कार्यले सानै उमेरदेखि पर्यावरणप्रतिको जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्ने बताउनुभयो। राज्यमन्त्रीले सन् २०२३ मा योजना शुरु भएदेखि हालसम्म करिब १० हजार बालबालिका यस योजनामा दर्ता भइसकेका र राज्यभर १० लाखभन्दा बढी रूख रोपिएको जानकारी दिँदै सिक्किम सरकार तथा वन एवं वातावरण विभागलाई यसको सफल कार्यान्वयनका लागि बधाई दिनुभयो। साथै, यो योजना देशका अन्य राज्यहरूका लागि पनि अनुकरणीय नमुना बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनाअनुसार शुरु गरिएको राष्ट्रव्यापी “एक पेड माँ के नाम” अभियानको सन्दर्भ जोड्दै सबै नागरिकलाई आफ्नी आमाको सम्मानमा रूख रोप्न र भावी पुस्ताका लागि हरित तथा दिगो भविष्य निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा बोजोघारीका बालक तेन्जिङ नाम्से भोटिया र उनकी आमा सोनाम ल्हामु भोटिया पनि “मेरो रूख, मेरो सन्तति” योजना अन्तर्गत सहभागी भएका थिए। सो अवसरमा बालकलाई योजनाअन्तर्गतको पासबुक हस्तान्तरण गरिएको थियो, जसले राज्य सरकारको बालबालिकाको भविष्य र पर्यावरण संरक्षणप्रतिको प्रतिबद्धतालाई प्रतीकात्मक रूपमा झल्काएको छ।
उक्त कार्यक्रममा वन विभागकी सीएफ (टी) सोनाम छोडेन भोटिया, डीएफओ गान्तोक क्षितिज सक्सेना, आरओ गान्तोक आशिष गुरुङ, आरओ गान्तोक विनोद छेत्री, सिक्किम भाजपा अध्यक्ष डीआर थापाका साथै वन विभागका अन्य अधिकारीहरू र स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।










