कृष्णराज छेत्रीकृत सांस्कृतिक लेखहरूका संगालो रेलीमाईका भाकाहरू तीनधारेमा लोकार्पित

IMG-20230624-WA0277.jpg

खरसाङ: तीनधारेका साहित्यकार कृष्णराज छेत्रीकृत सांस्कृतिक लेखहरूका संगालो ‘रेलीमाईका भाकाहरू’ आज तीनधारेमा लोकार्पण गरिएको छ। तीनधारेको गोलाई पाखास्थित मित्र संघ सार्वजनिक भवनमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा साहित्य कला संस्थान तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाईली उपस्थित रहेका थिए भने मुख्य अतिथिको रूपमा तीनधारेका वरिष्ठ नागरिक मदनकुमार प्रधान उपस्थित रहेका थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको उक्त लोकार्पण कार्यक्रममा कविद्वय मिलन प्रधान र सुप्रिम छेत्रीले कविता पठन गरेका थिए भने गीतकार सुकुमार बराईलीद्वारा गीत वाचन गरिएको थियो। त्यसरी नै शिक्षक विशाल प्रधानले गीत प्रस्तुत गरेका थिए। तीनधारे क्षेत्रका सामाजिक व्यक्तित्व, राष्ट्रीय शिक्षक सेवा पुरस्कारद्वारा सम्मानित एवं वरिष्ठ व्यक्तित्व स्व हरिप्रसाद छेत्रीको तस्वीरमा धुप दिप प्रज्वलन गरी स्मरणमा गर्दै थालिएको कार्यक्रममा साहित्य कला संस्थान तीनधारेको मूल सचिव सन्तोष लामाले स्वागत सम्भाषण राखेका थिए। कृष्णराज छेत्रीद्वारा लिखित उक्त सांस्कृतिक लेखहरूका संगालो ‘रेलीमाईका भाकाहरू’ आफ्नो गुरु स्व हरिप्रसाद छेत्रीप्रति समर्पण गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि मदनकुमार प्रधानले स्व हरिप्रसाद छेत्रीको जीवनी विषयमा प्रकाश पारेका थिए। उक्त पुस्तकको लोकार्पण सभाध्यक्ष रञ्जनकुमार रसाईली, मुख्य अतिथि मदनकुमार प्रधान, स्व हरिप्रसाद छेत्रीकी पत्नी धनकुमारी छेत्री, ज्ञानबहादुर राई, हरिप्रसाद छेत्रीका सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र लेखक कृष्णराज छेत्री आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा लेखक कृष्णराज छेत्रीलाई खदार्पणसहित सम्मान जनाइएको थियो। कार्यक्रममा पुस्तक लोकार्पणको घोषणा सभाध्यक्ष रञ्जनकुमार रसाईलीले गरेका थिए। कार्यक्रममा कृष्णराज छेत्रीकृत सांस्कृतिक लेखहरूका संगालो रेलीमाईका भाकाहरू कृतिमाथि समीक्षात्मक टिप्पणी उत्तम शर्माले राखेका थिए। उनले कृष्णराज छेत्रीले नेपाली संस्कार संस्कृति विषयमा गहिरो अध्ययन गरेर पुस्तक प्रकाशित गरेको र यस पुस्तकमा नेपाली जातीय संस्कृति विषयमा गहिरो जानकारी राखिएकोले अहिलेको पुस्ताले यो पुस्तक पढ्नु पर्ने आवश्यकता रहेको बताएका छन्। त्यसरी नै स्व हरिप्रसाद छेत्रीको परिवारको पक्षबाट सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले सबैलाई धन्यवाद दिन्दै कृष्णराज छेत्रीद्वारा लिखित कृति विभिन्न पुस्तकालयहरूमा लगिदिने वचन दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन मित्र संघ गोलाई पाखा तीनधारेको सचिव राजेस सेवाले राखेका थिए।

About Author

Advertisement