सिलगढ़ीः युनाइटेड फोरम अफ अल आदिवासी अर्गनाइजेशनले धेरै मागहरूलाई लिएर राज्यका विभिन्न स्थानहरू सरह फांसीदेवामा पनि बिहिवार राष्ट्रिय राजमार्ग ३१(डी) जाम गऱ्यो। यद्यपि, पछि पुलिस र बीडीओले आश्वासन दिएपछि सड़क जाम हटाइयो।
वस्तुतः कुर्मी जातिलाई आदिवासीको दर्जा दिने माग गर्दै झारखण्ड र बंगालमा अब जातिय संघर्षको स्थिति बनेको छ। एकातिर, कुर्मी समाजका मानसिहरूले आदिवासी दर्जाको माग गर्दै लगातार आन्दोलन गरिरहेका छन् भने अर्कोतिर, उनीहरूको यस मागविरूद्ध आदिवासी संगठन पनि गोलबन्द भएको छ। २२ आदिवासी संगठनहरूले कुर्मीहरूको माग विरूद्ध आज १२ घण्टाको बंगाल बन्दको घोषणा गरेका छन्। यसैको मध्यनजर आज बिहान आदिवासीहरूले युनाइटेड फोरम अफ अल आदिवासी अर्गनाइजेशनको ब्यानरमुनि फांसीदेवाको घोषपुकुरमा राष्ट्रिय राजमार्ग ३१(डी) मा यातायात बाधित गरे। संगठनका सदस्यहरू हातमा बञ्चरो, भाला र तीर-धनुष लिएर सड़कमा खड़ा भए।
आदिवासीहरूले सड़क जाम गरेको कारण कोलकाता जाने मार्गमा लामो समयसम्म जाम लाग्यो। स्थितिलाई नियन्त्रण गर्न जिल्ला पुलिस घटनास्थलमा पुग्यो। लगभग दुई घण्टाको सड़क जामपछि पुलिस र बीडीओको आश्वासनमा सड़क जाम हटाइएको छ। संगठनको तर्फबाट बीडीओलाई एक ज्ञापन पनि सुम्पियो।









