सबै वर्ग र समुदायको हितका लागि काम गर्ने प्रतिबद्धता
जयगाउँ: जयगाउँस्थित कुण्डोलिङ गुम्बा (शेर्पा गुम्बा) मा आयोजित एक विशेष कार्यक्रमका बीच पश्चिम बङ्गालका मन्त्री विशाल लामालाई भव्य सम्मान गरिएको छ। गुम्बा व्यवस्थापन समितिद्वारा आयोजित उक्त गरिमामय समारोहमा मन्त्री लामालाई आत्मीय स्वागत र सम्मान प्रदान गरिएको हो।
उक्त सम्मान कार्यक्रममा मन्त्री लामाका साथै भारतीय जनता पार्टी (भाजपा) का प्रदेश सचिव मोहन शर्मा तथा पार्टीका विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। गुम्बामा प्राप्त न्यानो स्वागत र सम्मानले आफूलाई अत्यन्तै भावुक र जनताको काम गर्न थप प्रेरित बनाएको मन्त्री लामाले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री लामाले भनेका छन्, “यहाँहरूले प्रदान गर्नुभएको आत्मीय स्वागत, सम्मान र स्नेहले मलाई अत्यन्तै भावुक र प्रेरित बनाएको छ। आगामी दिनहरूमा पनि जनताको सेवा, विकास र समाजको हितका लागि निरन्तर समर्पित रहँदै सबै वर्ग, समुदाय र संस्कृतिको सम्मान गर्दै अघि बढ्नेछु।”
उनले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै समाजको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन्। कार्यक्रमको सफल आयोजनाका लागि मन्त्री लामाले कुण्डोलिङ गुम्बा व्यवस्थापन समितिप्रति हार्दिक आभार प्रकट गर्दै सबैको कल्याणको कामना गरेका छन्।









